मन्त्रिपरिषद् बैठकका पछिल्ला १७ निर्णयहरु के-के हुन् ?(सूचीसहित)
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीले दिएको राजीनामा स्वीकृत गरेको छ ।
सोही बैठकले एमसीए नेपाल मार्फत निर्माण हुने ४०० केभी प्रसारण लाइनका लागि नवलपरासी (पूर्व–पश्चिम), पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुरमा पर्ने करिब १,३८१ हेक्टर क्षेत्रफलमा संरचना निर्माण र रुख रोप्न निषेध गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सरकारले स्याङ्जाका श्यामप्रसाद श्रेष्ठलाई सरकारले प्रयोग गरेको जग्गावापत १ करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ ।बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र त्यसका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गरेको छ ।
त्यसैगरी, भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८–२९ गते आयोजना हुने नेपाल–भारत समन्वयात्मक बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई अनुमति दिने निर्णय गरिएको छ ।
यसबाहेक मन्त्रिपरिषद्ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ र भू–उपयोग नियमावली, २०८२ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।















