अर्थका ‘क्याडर’ राजस्व सचिवमा फर्किए
काठमाडौँ । जागिरे जीवनको लामो समय अर्थ मन्त्रालयमै विताएका भूपाल बराल राजस्व सचिवका रुपमा आउने भएका छन् । उनले आगामी शुक्रबारदेखि अर्थ मन्त्रालयमा ‘दोस्रो’ सचिवको भूमिका थाल्ने छन् ।
उनीसँग अर्थ मन्त्रालयको बजेट महाशाखा, राजस्व प्रशासन महाशाखा, आन्तरिक राजस्व विभाग लगायतमा रहेर ती विभाग तथा महाशाखाको नेतृत्व गरेको अनुभव छ ।
उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । अहिले उनी बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव (प्रदेशको मुख्य सचिव)को रूपमा कार्यरत छन् ।
गत असोज ६ गते तत्कालिन राजस्व सचिव दिनेशप्रसाद घिमिरेलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा पठाइएको थियो । उनी पछिल्लो पटक २०८० चैतमा अर्थ मन्त्रालयबाट बाहिरिएका थिए । पछि २०८२ जेठमा बढुवा भएर सचिव बनेपछि उनलाई सरकारले बागमतीको प्रमुख सचिवमा खटाएको थियो ।













