ओली र लेखकलाई जस्तै आईजीपी खापुङलाई पनि उपत्यका छाड्न रोक
काठमाडौं । निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई पदबाट अवकाश पाएकै दिनदेखि उपत्यका छाड्न नपाउने निर्देशन थमाएइएको छ । उनलाई काठमाडौं उपत्यका छाड्न र विदेश भ्रमण गर्न रोक लगाइएको हो ।
गत भदौ २३ र २४ गतेको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई यस्तो प्रतिबन्ध लगाएको हो ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले विहीबार एक विज्ञप्ती जारी गरेर यसबारे जानकारी साझा गरेका छन् । खापुङलाई पदबाट बाहिरिएकै दिन यस्तो निर्देशन दिएर आयोगले सरकारप्रति बफादारिता देखाएको हुनसक्ने अड्कल काटिएको छ ।
सरकार मूलरुपमा खापुङलाई पक्राउ गर्न चाहेको रुपमा पनि सुरक्षा वृत्तमा चर्चा भइरहेको जानकार बताउँछन् । खापुङले पूर्ववर्ति सरकारको नेतृत्व अर्थात् ओली र तत्कालिन गृहमन्त्री लेखकलाई पक्राउ गर्न अस्वीकार गरेका थिए । कतिपयले भने खापुङले आफ्नो अवकाशपछि यस्तो अवस्था आउँछ भन्ने पहिले नै बुझेर नेताहरुलाई पक्राउ गर्न अस्वीकार गरेको पनि उनका निकटवर्तीहरु बताउँछन् ।
आयोगले यसअघि निवर्तमान प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक लगायतलाई पनि आयोगले यस्तो निर्देशन दिएको थियो । ओलीले उक्त निर्देशन र आयोगको वैधानिकता समेत नहुने भनेर सार्वजनिक अभिव्यक्ति दिएको भए पनि उनले हालसम्म उपत्याका छाड्ने हिम्मत गरेका छैनन् ।
उक्त सूचनामा भनिएको छ,. ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’














