नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी मार्ग खुला
काठमाडौं । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र भारत सरकारका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीचको दुईपक्षीय भेटपछि प्रोटोकल संशोधन गर्दै लेटर अफ एक्सचेन्ज आदान प्रदान गरिएको हो ।
सो अवसरमा नेपाल र भारतबीच सम्पन्न पारवहन सन्धिको प्रोटोकलमा संशोधन गरी कोलकाता/विशाखापटनम्बाट विराटनगर–जोगवनीसम्म र कोलकाता/विशाखापटनमबाट नौतनवा (सुनौली) सम्म रेलमार्फत र त्यहाँबाट भैरहवासम्म सडकमार्ग प्रयोग गरी सबै किसिमका कार्गो ढुवानी गर्न पाउनेछन् ।
उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतकाअनुसार विगतमा उक्त दुवै नाकाबाट रेलमार्फत चारवटा वल्क सामान मात्र ढुवानी गर्न पाउने व्यवस्था रहेकोमा पारवहन सन्धिको प्रोटोकलमा भएको उक्त संशोधनबाट सबै किसिमका कार्गो ढुवानी गर्न सकिनेछ ।
यसबाट नेपालको पारवहन लागत र समयमा कमी आई व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।













