फागुन २१ को चुनावका लागि निर्वाचन आयोगले मागेको भन्दा करिव ३ अर्ब कम बजेट स्वीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फागुन २१ को चुनावका लागि निर्वाचन आयोगले मागेको भन्दा करिव ३ अर्ब कम बजेट स्वीकृत



काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ५ अर्ब बजेट स्वीकृत गरेको छ ।

चुनावका लागि निर्वाचन आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ बजेट दिने निर्णय गरेको हो ।

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने पनि मन्त्रालयले जनाएको छ ।फागुन २१ गते प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले पनि मन्त्रालयले अघिल्लो चुनावहरूको तुलनामा कम बजेट निकासा गरेकाे हो।

अघिल्लो निर्वाचनमा भएको खर्चलाई आधार मानेर मन्त्रालयले यो बजेट निकासा गर्न स्वीकृत दिएको जनाएको छ।

अर्थमन्त्री रामेश्वर खनालले यसअघि नै निर्वाचन आयोगका आयुक्तहरूसँगको छलफलमा मितव्ययी भएर खर्च गर्न आग्रह गरेका थिए।

आयोगले निर्वाचन व्यवस्थाका लागि खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा हुने खर्च आकलन गरेर बजेट माग गर्छ।

सबभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुने आयोगको ठम्याइ छ। आयोगका अनुसार एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्छ।

आयोगले एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र व्यवस्था गर्दै आएको छ। मतगणनाका लागि पनि आयोगले नै कर्मचारी व्यवस्थापन गर्छ।

यस्तै आयोगले फागुन २१ गते निर्वाचन गराउन हिमाली क्षेत्रमा कठिनाइ हुनसक्ने आकलन गरेको छ। त्यस्ता ठाउँमा मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टर व्यवस्था गर्ने आयोगको तयारी छ।


प्रतिक्रिया दिनुहोस्