तीन महिनामै शिवम सिमेन्टको व्यापार डेढ अर्बमाथि, १६.३८ गुणा बढ्यो नाफा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

तीन महिनामै शिवम सिमेन्टको व्यापार डेढ अर्बमाथि, १६.३८ गुणा बढ्यो नाफा



काठमाडौं । शिवम सिमेन्टले तीन महिनामै डेढ अर्बको व्यापार गरेको छ । कम्पनीको व्यापार करिब ९ प्रतिशत वृद्धि भएको देखिन्छ ।

कम्पनीको आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको तीन महिनामा कम्पनीको व्यापार ९.०३ प्रतिशत वृद्धि भई १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । जबकि, कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

व्यापारमा आएको बढोत्तरीसँगै कम्पनीको नाफामा १६.३८ गुणा वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा शिवमले १ करोड २७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । तर, चालु आवमा भने २० करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीको कुल नाफा पनि २१५.०७ प्रतिशत बढेर ३२ करोड ६५ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा पनि ५ अर्ब ३ करोड २ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १४.३५ रुपैयाँ बढेर १५.३७ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १९२.१८ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्