९ श्रावण २०८३, शनिबार

प्रथम ‘एआई इन बैंकिङ एण्ड फिनटेक कन्फरेन्स २०२५’ काठमाडौंमा हुँदै



काठमाडाैं । फिन्टेक अलायन्स नेपाल र काठमाडौँ फिन्टेकको संयुक्त आयोजना तथा फोनपेको प्रस्तुती र ईसेवा, भिसा, आदिस्वान लगायतका ख्यातिप्राप्त फिन्टेक तथा टेक कम्पनीहरू को सहयोगमा प्रथम ‘एआई इन बैंकिङ्ग तथा फिनटेक सम्मेलन २०२५’ यही मङ्सिर ४ गते (नोभेम्बर २०, २०२५) काठमाडौंमा हुने भएकाे छ।

उक्त कार्यक्रमकाे उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी-गभर्नर बमबहादुर मिश्रले गर्नेछन्। सम्मेलनमा देश-विदेशका प्रतिष्ठित वक्ता, बैंक तथा फिन्टेकका उच्च नेतृत्व, र नियामक निकायका अधिकारीहरू समेत उपस्थित रहनेछन्। झन्डै १५० भन्दा बढी सहभागीहरू उपस्थित हुने अपेक्षा गरिएको छ।

वक्ताहरूले एआईद्वारा बैंकिङ, फिनटेक, भुक्तानी प्रणाली, साइबर सुरक्षा, ग्राहक अनुभव, जोखिम व्यवस्थापन र वित्तीय समावेशितालाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा आफ्ना धारणा राख्नेछन्।

यो सम्मेलनले नेपालको बैंकिङ् तथा वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे जागरण, क्षमता विकास र व्यावहारिक पाटो माथी छलफल गर्ने बताइएकाे छ।

यस्तै यस सम्मेलनमा विश्वप्रसिद्ध फिन्टेक तथा एआई विशेषज्ञहरूले आफ्ना विचार प्रस्तुत गर्नेछन्। कार्यक्रममा भारतीय बैंकिङ तथा फिन्टेक क्षेत्रमा ख्यातिप्राप्त विशेषज्ञ दीपक शर्मा, भिसाका डिजिटल भुक्तानी समाधान र एजेन्टिक एआई प्रमुख राजा गोपाल पी, एडीएफसी बैंकका वरिष्ठ प्रमुख डाटा वैज्ञानिक कृत दोसी, फ्यूजमेशिनका उत्पादन उपाध्यक्ष जियोभानी लेमस जस्ता अन्तराष्टिय विज्ञले प्रतुति दिनेछन् ।

यस्तै नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरे, नबिल बैंकका सिइओ मनोज ज्ञावाली, एनएमबी बैंकका सिइओ गोविन्द घिमिरे र ग्लोबल आइएमइ बैंकका डीसीइओ सुमन पोखरेलको पनि प्रस्तुति रहने छ ।

आयोजक तर्फबाट काठमाडौं फिन्टेकका संस्थापक तथा फिन्टेक अलायन्स नेपालका संस्थापक पूर्व अध्यक्ष सन्जिब सुब्बाले यो सम्मेलन नेपालको बैंक तथा वित्तीय क्षेत्रमा एआईको जिम्मेवार, सुरक्षित र प्रभावकारी प्रयोगलाई मुख्यधारमा ल्याउने महत्वपूर्ण मोड हुने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्