८ कार्तिक २०८३, आइतबार

एउटै मिति, एउटै गन्तव्य र एउटै उडानः किन उपभाेक्ताले जहाजकाे टिकटलाई फरक-फरक मूल्य तिर्छ ?



काठमाडौं । एउटै गन्तव्य, एउटै मिति, एउटै उडान र कहिलेकाहीँ एउटै कक्षाको सिट, तर दुई यात्रुले किनेको टिकटको मूल्य भने फरक-फरक तिर्नुपर्ने परेकाे हुन्छ । एक जनाले १० हजार रुपैयाँमा किनेको टिकट त्यही उडानमा अर्को यात्रुले १२ देखि १५ हजार रुपैयाँसम्म पनि तिरेर किनेको हुन्छ।

आखिर एउटै जहाजमा फरक-फरक मानिसलाई किन फरक मूल्यमा बिक्छ विमानको टिकट ?

यसको सीधा उत्तर हो- विमानको टिकटको मूल्य सबै यात्रुका लागि एउटै राखिँदैन। एयरलाइन्सले उडानको माग, बाँकी सिट, यात्रा गर्ने समय, टिकट किन्न बाँकी समय, टिकटको नियम र यात्रुको मागको प्रकृतिसहित विभिन्न पक्षको विश्लेषण गरेर मूल्य निर्धारण गर्छन्।

यसलाई हवाई उद्योगमा रेभेन्यु म्यानेजमेन्ट अर्थात् आम्दानी व्यवस्थापन भनिन्छ। अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) का अनुसार टिकटको मूल्य निर्धारण एयरलाइन्सको आम्दानीका लागि अत्यन्त महत्वपूर्ण हुन्छ र यसमा माग, प्रतिस्पर्धा, लागत, मौसम तथा बजारको अवस्थाजस्ता धेरै पक्ष हेरिन्छन्।

पहिलो कुरा बुझ्नुपर्ने के हो भने एयरलाइन्सले एउटा उडानका सबै सिटलाई एउटै मूल्यमा बिक्री गर्दैनन्।

उदाहरणका लागि, काठमाडौं-दिल्लीको कुनै उडानमा १८० सिट छन् भने ती सबै सिट ८ हजार रुपैयाँमा बिक्री गर्नुपर्छ भन्ने हुँदैन। एयरलाइन्सले निश्चित संख्याका सिटलाई कम मूल्यका विभिन्न फेयर क्लासमा राख्न सक्छ। ती सिट बिक्री हुँदै जाँदा सस्तो वर्ग बन्द गरेर महँगो वर्ग खोल्छ।

आईएटीएका अनुसार एयरलाइन्सको आम्दानी व्यवस्थापन प्रणालीले विभिन्न फेयर क्लास खुला वा बन्द गर्छ। प्रत्येक वर्गले निश्चित मूल्य र टिकटका निश्चित नियम जनाउँछ। मागअनुसार एयरलाइन्सले यी वर्गमा उपलब्ध सिटको संख्या परिवर्तन गर्छ।

यसैले एउटै उडानमा सुरुमा टिकट खोज्दा ८ हजार रुपैयाँ देखिन सक्छ। केही समयपछि त्यही उडान खोज्दा १० हजार, १३ हजार वा अझ बढी देखिन सक्छ। जसकाे अर्थ जहाजको सिट फेरिएको होइन, सस्तो मूल्यमा बिक्रीका लागि छुट्याइएको सिटको कोटा सकिएको हो।

चाँडै किन्दा सस्तो, ढिलो किन्दा महँगो किन ?

यसको अर्को महत्वपूर्ण कारण हो ‘माग र आपूर्ति’ । मानौँ कुनै एयरलाइन्सको काठमाडौं-दुबई उडानमा १५० सिट छन्। उडानको मिति अझै दुई महिना बाँकी छ र टिकटको माग कम छ भने यात्रु आकर्षित गर्न एयरलाइन्सले केही सिट कम मूल्यमा बेच्न सक्छ।

तर उडानको मिति नजिकिँदै जाँदा सिट भरिन थाल्यो भने सस्तो मूल्यका टिकट बन्द हुन सक्छन्। त्यसपछि बाँकी सिट महँगो मूल्यमा बिक्री हुन सक्छन्।

आईएटीएका अनुसार एयरलाइन्सले विगतको तथ्यांक, हाल भइरहेको बुकिङ र अपेक्षित मागको आधारमा मूल्य निर्धारण गर्छन्। उडानको माग दिनैपिच्छे परिवर्तन हुन सक्ने भएकाले मूल्य निर्धारण पनि निरन्तर परिवर्तन हुने प्रक्रिया हो।

यही कारणले आज बिहान १० हजार रुपैयाँमा देखिएको टिकट बेलुका १२ हजार रुपैयाँ हुन सक्छ, भोलिपल्ट फेरि खोज्दा अझ फरक मूल्य देखिन सक्छ।

यस्तै दशैं तथा तिहार जस्ता ठूला चाडपर्व, लामो बिदा, वा कुनै ठूलो खेलकुद प्रतियोगिताका समयमा धेरै मानिस एकैपटक यात्रा गर्न खोज्छन्। माग बढेपछि सस्तो मूल्यका टिकट छिटो बिक्री हुन्छन् र बाँकी टिकट तुलनात्मक रूपमा महँगो फेयर क्लासमा पुग्छन्।

त्यसैले ठूला चाँडबाडमा टिकट महँगो हुनु केवल एयरलाइन्सले मनलाग्दी मूल्य बढाएको कारण मात्र होइन। एकै समयमा धेरै मानिसले टिकट खोज्दा सस्तो फेयर क्लासका सिट सकिनु पनि त्यसको एउटा प्रमुख कारण हो।

एयरलाइन्सले कसरी थाहा पाउँछ कति मूल्य राख्ने?

एयरलाइन्सले विगतका वर्षको बुकिङ तथ्यांक, अहिले भइरहेको बुकिङको गति, उडानमा बाँकी रहेका सिट, मौसम, प्रतिस्पर्धी एयरलाइन्सका दररेट, यात्रा गर्ने यात्रुको प्रकृति र अन्य बजार अवस्थालाई गहिरोसँग विश्लेषण गर्छ।

यी सबै काम अहिले ठूलो मात्रामा कम्प्युटर प्रणाली, एआई एल्गोरिदम र गणितीय सूत्रमार्फत स्वचालित रूपमा हुन्छन्।

आईएटीएका अनुसार एयरलाइन्सका रेभेन्यु म्यानेजमेन्ट प्रणालीले ऐतिहासिक तथ्यांक र अन्य बजार सूचक प्रयोग गरेर उपयुक्त मूल्य निर्धारण गर्छन्। मागको पूर्वानुमान गर्ने यो अत्याधुनिक प्रणालीले आगामी दिनमा कति सिट कुन दरमा बिक्री हुन सक्छ भनेर अनुमान गर्छ र त्यसअनुसार मूल्य तथा उपलब्धता समायोजन गर्छ।

अर्थात् एयरलाइन्सले केवल “यो सिटको लागत यति पर्यो, त्यसमा यति नाफा थपौँ” भनेर परम्परागत तरिकाले टिकटको मूल्य तोक्दैन।

उसले यो उडानमा कति माग आउला, कति सिट खाली रहला र कुन मूल्यमा कति सिट बेच्दा कुल उडानबाट अधिकतम आम्दानी निकाल्न सकिन्छ? भन्ने हिसाब गर्छ।

एउटै सिटमा पनि टिकटको नियम फरक हुन सक्छ

अर्को महत्वपूर्ण कुरा हो-टिकटको मूल्य मात्र होइन, टिकटसँग जोडिएका सुविधा र नियम पनि फरक हुन्छन्।

एउटा सस्तो टिकट परिवर्तन गर्न नमिल्ने हुन सक्छ। अर्को टिकटमा मिति परिवर्तन गर्न पाइने हुन सक्छ। कुनैमा सामानको सुविधा समावेश हुन सक्छ भने अर्कोमा अतिरिक्त शुल्क तिर्नुपर्ने हुन सक्छ।

यसरी हेर्दा यात्रुले किनेको कुरा केवल जहाजको सिट मात्र होइन, त्यस सिटसँग जोडिएको नियम र सुविधासहितको टिकट हो।

एउटै उडानमा पनि कसैले महँगो टिकट किन्छ त कोही सस्तो, यसको एउटा कारण यात्रुको यात्रा गर्ने उद्देश्य र मागको प्रकृति पनि हो।

व्यावसायिक कामका लागि तत्काल यात्रा गर्नुपर्ने यात्रु मिति परिवर्तन गर्न नमिल्ने सस्तो टिकट खोजेर केही दिन कुर्न सक्दैन। उसलाई निश्चित समयमा पुग्नैपर्ने हुन सक्छ। अर्कोतर्फ घुम्न जाने यात्रुले मिति केही दिन अगाडि–पछाडि सार्न सक्छ।

हवाई उद्योगको मूल्य निर्धारणसम्बन्धी अनुसन्धानले पनि यात्रुको मागको प्रकृति र फरक समूहअनुसार मूल्य निर्धारण गर्ने सम्भावनालाई अध्ययन गरेको छ। नयाँ वितरण प्रविधिले एयरलाइन्सलाई यात्रुको मागको प्रकृतिअनुसार अझ लचिलो मूल्य प्रस्ताव गर्न सक्ने सम्भावना देखाएको छ।

त्यसैले “अर्को यात्रुले सस्तोमा पायो, मैले किन महँगो तिरेँ?” भन्ने प्रश्नको उत्तर सधैं एउटै हुँदैन। उसले फरक समयमा टिकट किनेको हुन सक्छ, फरक फेयर क्लासमा टिकट पाएको हुन सक्छ वा उसको टिकटमा फरक नियम तथा सुविधा हुन सक्छ।

अब टिकटको मूल्य अझ गतिशील हुँदैछ

परम्परागत रूपमा एयरलाइन्सले निश्चित मूल्यका फेयर क्लास बनाएर टिकट बेच्दै आएका थिए। तर अहिले उद्योग डाइनामिक अफर र अझ लचिलो मूल्य निर्धारणतर्फ अघि बढिरहेको छ।

आईएटीएले एयरलाइन्सहरू स्थिर फेयर क्लासबाट क्रमशः बजारको वास्तविक समयको अवस्था र यात्रुको खोजीको सन्दर्भअनुसार तत्कालै नयाँ प्रस्ताव तथा मूल्य तयार गर्ने प्रणालीतर्फ अघि बढिरहेको जनाएको छ। यो नयाँ प्रणालीले बजारको माग, सिट उपलब्धता र यात्रुको रोजाइका आधारमा ‘अन-द-स्पट’ उपयुक्त मूल्य तोक्ने लक्ष्य राख्छ।

यसको अर्थ भविष्यमा विमानको टिकटको मूल्य “कति दिनअघि किनेको?” भन्ने एउटा प्रश्नमा मात्र निर्भर रहने छैन। एयरलाइन्सले उपलब्ध सिट, मागको चाप र अन्य प्राविधिक तथ्यांकलाई अझ सूक्ष्म रूपमा विश्लेषण गरेर हरपल मूल्य समायोजन गर्न सक्छन्।

तर यसको अर्थ हरेक व्यक्तिले वेबसाइट खोल्दा उसको व्यक्तिगत ब्राउजिङ हिस्ट्री वा परिचय हेरेर मनलाग्दी फरक मूल्य राखिन्छ भन्ने भ्रम पाल्नुहुँदैन। टिकटको मूल्य फरक हुनुका पछाडि मुख्य रूपमा एयरलाइन्सको व्यावसायिक मूल्य संरचना, फेयर क्लास, सिट उपलब्धता, माग र बुकिङको समयजस्ता वस्तुगत कारण नै हुन्छन्।

त्यसो भए सस्तो टिकट पाउने उपाय के त ?

सबैभन्दा महत्वपूर्ण कुरा हो- मूल्य परिवर्तन हुन सक्छ भन्ने बुझेर योजना बनाउनु। यात्राको मिति लचिलो छ भने फरक मिति र उडानको मूल्य तुलना गर्न सकिन्छ।

चाडपर्व वा उच्च माग हुने समयमा अन्तिम समयसम्म पर्खिँदा सस्तो फेयर क्लास सकिइसकेको हुन सक्छ। त्यसैगरी टिकटको आधारभूत मूल्य मात्र हेरेर होइन, सामान, सिट छनोट, मिति परिवर्तन र अन्य शुल्क जोडेर वास्तविक लागत तुलना गर्नुपर्छ।

किनकि विमानको टिकट वास्तवमा “एउटा सिटको मूल्य” मात्र होइन, सीमित सिटबाट एयरलाइन्सले अधिकतम आम्दानी निकाल्ने एउटा जटिल व्यापार प्रणाली हो।

त्यसैले एउटै जहाजमा एउटै समयमा उड्ने दुई यात्रुले फरक मूल्य तिर्नु असामान्य होइन। जहाज एउटै हुन्छ, सिट उस्तै हुन सक्छ, तर त्यो सिटसम्म पुग्ने मूल्य निर्धारणको प्रक्रिया भने फरक हुन सक्छ।