सुध्रिँदै प्रदेश, कर्णालीले घटायो मन्त्रायको संख्या - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुध्रिँदै प्रदेश, कर्णालीले घटायो मन्त्रायको संख्या



काठमाडौँ । कर्णाली प्रदेशले मन्त्रालयको संख्या घटाएर ६ मा झारेको छ । अब मुख्य मन्त्रीको कार्यालयसमेत गरेर ७ मन्त्रालय हुने भएको छ ।

यसअघि ८ वटा मन्त्रालय थिए । त्यहाँको प्रदेश सकारले सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभ्ने गरी निर्णय गरेपछि मन्त्रालयको संख्या घटेको हो ।

अब प्रदेश कानून र सुरक्षा व्यवस्थाहरु मुख्यमन्त्रीले नै हेर्ने भएका छन् । प्रशासनिक पुनर्संरचनाअनुसार पहिलो चरणमा एउटा मन्त्रालय गाभ्ने गरी कार्यविभाजन नियमावली हेरफेर गरिएको हो ।

प्रदेश सरकारले गत वैशाखमा ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’ गठन गरेको थियो ।

त्यो समितिले असार २५ मा प्रदेश सरकारलाई प्रतिवेदन बुझायो । जसमा ८ वटा मन्त्रालयलाई घटाएर ६ वटामा झार्ने, दर्जनौँ निर्देशनालय र कार्यालय खारेज गर्ने तथा कर्मचारी दरबन्दीलाई २५०० मा सीमित गर्ने लगायतका थुप्रै सुझाव त्यहाँको सरकारलाई दिएको थियो ।

समितिको यही सुझावलाई क्रमश: कार्यान्वयन गर्न र प्रदेश संरचनालाई चुस्त दुरुस्त बनाउँदै लैजान प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउँदै लैजाने नीतिअनुरूप मन्त्रालय गाभिएको जनाइएको छ ।

मन्त्रालय गाभिएसँगै कर्मचारीको संख्या पनि घटाइएको छ । मुख्य मन्त्री कार्यालय र कानून मन्त्रालयमा कुल १०१ दरबन्दी रहेकोमा जम्मा ७६ दरबन्दी कायम गरेको छ । यसमा एक जना प्रदेश सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती गरिएको कर्णाली सरकारले जनाएको छ।

यति गर्दा पनि प्रदेश सरकारले वार्षिक ३ करोड रुपैयाँ खर्च कटौती हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्