करदाताको लागत घटाई व्यवसायमैत्री वातावरण बनाउन अर्थमन्त्रीको निर्देशन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

करदाताको लागत घटाई व्यवसायमैत्री वातावरण बनाउन अर्थमन्त्रीको निर्देशन



काठमाडाैं । मंसिर १ गते सोमबार आन्तरिक राजस्व विभागको आयोजनामा “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नाराका साथ राष्ट्रिय कर दिवस, २०८२ भव्य रूपमा सम्पन्न भएको छ ।

आन्तरिक राजस्व विभाग लाजिम्पाट परिसरमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहालले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, विशिष्ट अतिथिको रुपमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र राजस्व सचिव भुपाल बराल रहेका थिए ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले जेनजी आन्दोलनको भावना, उद्देश्य, मर्म र सन्देश अनुसार सार्जजनिक निकाय, कर्मचारी, समाज र निजी क्षेत्रले आफ्ना त्रुटी तथा कमजोरीहरुलाई सुधार गर्दै सदाचार, नैतिकता, सुशासन र जवाफदेहिता कायम गर्न निर्देशन दिए।

यसका साथै कराधार विस्तार गर्दै आर्थिक वृद्धि र दीगो आर्थिक विकास हासिल गरी प्राप्त लाभको समतामूलक वितरण गर्न राजस्वको योगदान वृद्धि गर्न आवश्यक रहेको व्यहोरा प्रष्ट्याए ।

उनले कर प्रशासनको सेवा नागरिकको घरसम्म पुयाउन आधुनिक प्रणाली उपयोग बढाउने र करदाताको लागत घटाई कम मूल्यमा व्यापार व्यवसाय गर्न सक्ने वातावरण सिर्जना गर्न प्रणालीको विस्तार गर्नुपर्ने विषयमा जोड दिए ।

जेनजी आन्दोलन पश्चात खरानीबाट उठेर उत्साहका साथ उच्च मनोवल कायम गर्दै निजी क्षेत्रले लगानी गरी रोजगारी सिर्जना गर्दै राजस्व संकलन, आर्थिक क्षेत्रको दायरा विस्तारमा निजी क्षेत्रसंग समन्वय कायम गर्ने र नीतिगत सहजीकरणका लागि अर्थ मन्त्रालय सदैव तत्पर रहेको व्यहोरा उल्लेख गरे।

साथै, नेपाललाई अन्तर्राष्ट्रिय रुपमा लगानीको आकर्षक गन्तव्य बनाउन पूर्वानुमानयोग्य नीति र नीतिगत स्थिरता कायम गर्न अर्थ मन्त्रालयको संरचनागत पक्षमा सुधार गरे पनि बताए ।

यस्तै अर्थमन्त्रीले चालिस लाखसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिको लागि क्युआर कोड सहितको अनलाईन कर चुक्ता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी व्यक्तिगत स्थायी लेखा नम्बर आफैले लिन सकिने प्रणालीको शुभारम्भ गरे ।

कार्यक्रमका विशिष्ट अतिथि अर्थ सचिव तथा राजस्व सचिवले निजी क्षेत्रका छाता संगठनहरुसँग समन्वय गरी राजस्वको दायरा विस्तार, बेरुजु फछ्यौट, बक्यौता न्यूनीकरण गरी लक्ष्य बमोजिम राजस्व संकलन गर्न, राजस्व चुहावट नियन्त्रण गर्दै सूचना प्रविधि प्रणालीमा सुधारका साथै पेपरलेस, फेसलेस विधि मार्फत राजस्व सेवा वितरण गर्न निर्देशन दिए ।

साथै, विश्व कर प्रणालीमा आएका नविन प्रवृत्तिहरुलाई बोध गरी जनशक्तिलाई तालिम प्रदान दिई कर प्रशासनको दक्षता अभिवृद्धि गर्न निर्देश गरे ।

निजी क्षेत्रका छाता संगठनका अध्यक्षहरूले कर प्रशासन र निजी क्षेत्र बीचमा मैत्री सम्बन्ध कायम गरी स्थिर कर नीति र फराकिलो कराधार सहित प्रविधिको उच्च प्रयोग मार्फत सरल, सहज लगायत जनताको नजिकमा करदाता सेवा पुऱ्याउन आग्रह गरे ।

साथै, नागिरकमा मुलुक प्रतिको नकारात्मक सोंचलाई हटाउन “नेपालमा जस्तो सम्भावना अन्त कतै छैन, मुलुक भित्र नै अथाह संभावना छ र नेपालमै केही गर्न सकिन्छू भन्ने भावनाको विकास गर्न जरुरी रहेको विषयमा जोड दिए । ्आर

न्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले कर प्रशासनमा सदाचारिता कायम गरी सुशासनको प्रत्याभूति प्रदान गर्दै करदाता सेवालाई प्रणालीको उपयोग मार्फत थप सरल, सहज र नागरिकको नजिकबाट सेवा प्रदान गर्न विकेन्द्रीकरणको अवधारणा अनुरुप करसँग सम्बन्धित अधिकांश सेवाहरु स्थानीय तहमार्फत प्रदान गरिने व्यहोरा उल्लेख गरे ।

यस कार्यक्रममा निजी क्षेत्र, सञ्चार जगत र उपत्यका स्थित आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूको उल्लेख्य उपस्थित समेत रहेको थियो ।

राष्ट्रिय कर दिवसको अवसरमा सोह्र विधा अन्तर्गत राजस्वमा सर्वाधिक योगदान दिने उत्कृष्ट करदाताहरूलाई सम्मान गरियो । कर प्रशासन र करदाताबीचको पारदर्शी सहकार्य, नीति संवाद र दीगो साझेदारीलाई यस दिवसले थप सबल बनाउने विश्वास व्यक्त गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्