व्यवसाय नै छाडेर बाहिरिन थाले ऋणी, पुनर्कर्जाको प्याकेज ल्याउन बैंकरको माग
काठमाडौँ । लामो समयको आर्थिक सुस्तता, उपभोगमा आएको कमी र कारोबारमा हुने घाटा सहन नसकेपछि नेपालका थुप्रै साना तथा मध्यमस्तरका व्यवसायिहरु व्यवसाय नै छाडेर बाहिरिन थालेको भन्दै केही बैंकरले गम्भीर चिन्ता जनाउन थालेका छन् ।
मान्छेहरु यसरी व्यवसाय नै छाडेर बाहिरिन थालेपछि बैंकको ऋण उठ्ने संभावना पनि कमजोर हुँदै गएको बैंकरको बुझाइ छ । ‘हामीले धितो त लिएका छौँ । तर धितोमात्रै भएर के गर्ने ?’, एक बैंकर भन्छन्, ‘मान्छे नै भएन र व्यापार नै भएन भने धितो पनि बिक्दैन रहेछ भन्ने देखिएकै छ ।’
साढे तीन वर्ष अघि सरकार र केन्द्रिय बैंकले भुक्तानी सन्तुलनामा चाप परेको भन्दै वस्तु आयातमा रोक लगाउन थालेपछि समस्या सुरु भएको थियो । २०७९ वैशाख १३ मा पहिलो पल्ट यस प्रकारको आयात निरुत्साहित गर्ने कदम चालिएको थियो, जुन त्यसै सालको मंसिर मसान्तसम्म कायम रह्यो ।
यही ७ महिनाको आयात प्रतिबन्ध र केन्द्रिय बैंकले चालेको कठोर मौद्रिक नीतिका कारण थुप्रै व्यवसाय बन्द हुन पुगे । सहकारी सस्थाहरुका देखिएको समस्या, लघुवित्तमा भएका विकृतिहरु, सेयर बजारको ओरालो यात्रा र घरजग्गाको कारोबारमा देखिएको गिरावट जस्ता कारणले अर्थतन्त्र नराम्रोसँग प्रभावित बन्न पुग्यो ।
अर्कातिर जापान, अस्ट्रेलिया, क्यानडाजस्ता मुलुकले ब्यापक मात्रामा नेपाली विद्यार्थी भित्र्याइदिए । सम्पत्तीको मूल्यमा भएको बढोत्तरीका कराण धेरै मानिसहरु आप्mना सन्तानलाई ती देशमा पठाउन सक्ने अवस्थामा पुगे । पोर्चुगल, स्पेनदेखि अमेरिकासम्म पनि नेपालीहरुको लर्को लाग्यो । यसले खाडीमा गएर कमाउने मात्रै होइन, स्थायी बसोबास गर्ने हेतुले विकसित विश्वमा पुग्ने मान्छेहरु नेपालको सम्पत्ति समेत विक्री गरेर बाहिरिन थाले ।
यसरी ब्यापक मात्रामा युवा बहिर्गमन भएपछि उपभोगमा संकुचन आयो । शहरका कफिसपहरु चल्न छाडे । अरु त अरु– मासु, मदिरा, सूर्तीसम्मको विक्री घट्यो । तेल, चामल, लत्ताकपडाको त कुरै भएन । भाटभोटिनी जस्तो ठूलो विक्रेतालाई सामान बेच्ने साना व्यवसायीले आत्मदाह गर्ने अवस्था बन्यो । कोभिडदेखि नै समस्यामा परेका साना उद्यमीहरु विस्तारै उधारो नउठ्ने जालमा फसे ।
विक्री घट्ने र भएको विक्रीको पनि उधारो नउठ्ने अवस्था बन्यो । त्यसपछि व्यवसाय गर्ने हजारौँ युवा यहाँको व्यवसायमात्रै होइन, देशै छाड्न थालेका थिए । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डेले केही समय अघि भनेका थिए, ‘अब त उधारो दिँदा पनि मान्छेको उमेर हेरेर दिनुपर्ने भयो । ४०–४५ वर्षभन्दा कम उमेरको मान्छेलाई उधारो दिनै नहुने भयो ।’
यसो भन्नुमा उमेर दोषी होइन । ‘युवा उमेरका व्यवसायी छन् र उधारो लगेको छ भने एक महिनापछि पैसा माग्न खोज्न फोन अफ हुन्छ । मान्छे त कि युरोप, कि अस्ट्रेलिया, कि जापान पुगिसकेको हुन्छ’, पाण्डेले भनेका थिए । तर यो रफ्तार हालका महिनामा पनि रोकिएन । काठमाडौँ बाहिरका शहरोन्मुख इलाका वा शहरी क्षेत्रहरुमै पनि अहिले ४–५ वर्ष अघिको जस्तो चहलपहल छैन । मान्छेहरु देशमै छैनन् । बरु तैविसेक काठमाडौँमा आवादी धेरे घटेको छैन ।
त्यसमाथि पनि अब राजनीतिक अनिश्चिततामा मुलुक फेरि एकपल्ट फस्दै छ । नयाँ भनिएका दलहरुले निजी उद्यमी, व्यवसायीमाथि आक्रमण गर्न थालेको भन्ने भाष्य स्थापित भइरहेको छ । पछिल्लो जेनजी आन्दोलनका दौरान व्यावसायिक प्रतिष्ठान र व्यवसायीका आवास तथा कार्यालयहरुमा आक्रमण भएको छ । यी सबै घटनाले उद्यमी व्यवसायीको मनोबल अझ कमजोर बन्दै गएको छ ।
त्यसैको परिणाम हो,— अहिले बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको । तर ऋण लिएर लगानी गर्न कोही पनि तयार छैन । घरजग्गा र सेयर बजारजस्ता सट्टेबाजीमा नेपालले पछिल्लो २० वर्ष जसरी मूल्य अभिबृद्धि गर्न सकेको थियो, अब त्यो अवस्था रहेन । यो परिस्थितिमा केही बैंकरहरु भने पुन: सस्तो ब्याजको पुनर्कर्जा लगायतका मौद्रिक राहत दिएर व्यवसायलाई उत्थान गर्नेपर्ने बताइरहेका छन् ।
बैंकमा लगानीयोग्य पैसा यति धेरै थुप्रिएको बेलामा पुनर्कर्जा किन चाहियो भन्ने प्रश्नमा ती बैंकर भन्छन्, ‘अहिले पनि ऋणको ब्याजदर ७–८ प्रतिशत छ । त्योभन्दा तल झर्न सक्ने अवस्था छैन । यस्तो बेलामा राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा ऋणीले नै पैसा पाउने गरी सहुलियत दियो भने व्यवसायीको मनोबल बढ्न सक्छ ।’
अहिले कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ५.७२ प्रतिशत छ । यसमा २ देखि ५ प्रतिशत प्रिमियम थपेर बैंकहरुले कर्जा लगानी गरिरहेका छन् । अहिलेको अवस्थामा जापान वा अमेरिकाले जस्तो शून्यस्तर नजिकको ब्याजदर ‘अफर’ गर्न सकेमा व्यवासायीको मनोबल उकास्न मद्दत गर्ने विस्वास ती बैंकरको छ ।
‘यसरी भएका उद्योगधन्दा र केही व्यवसायलाई उकास्न सकियो भने बल्ल आर्थिक गतिविधि चलायमान हुन थाल्छ’, उनी भन्छन्, ‘त्यसपछि अहिले बैंकिङमा भएको अधिक तरलताको समस्या पनि समाधान हुनसक्छ ।’













