यस वर्ष पनि कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

यस वर्ष पनि कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’



काठमाडाैं । नेपालले सन् २०२५ का लागि फिच रेटिङबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ “बीबी माइनस” प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट “बीबी माइनस” रेटिङ् प्राप्‍त गरेको नेपालले यस वर्ष पनि निरन्तरता पाएके हो ।

पछिल्ला महिनाहरूमा देखिएको सामाजिक(राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ ।

चुनाव(केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको छ ।

साथै नेपालले प्राप्त गरेको यो रेटिङले मुलुक भित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट सङ्केत दिएको छ ।

मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्‍न यो रेटिङले मद्दत पुर्‍याउनेछ ।

विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको हुन्छ ।

यस अवसरमा अन्तर्राष्ट्रिय विकास साझेदारहरू, वैदेशिक लगानीकर्ताहरू, निजी क्षेत्र तथा आम नागरिकहरूले नेपाल सरकार प्रति देखाएको निरन्तर विश्वास र सहयोगका लागि अर्थ मन्त्रालयले धन्यवाद व्यक्त गरेके छ ।

साथै, आगामी दिनमा पनि आर्थिक स्थायित्व, पारदर्शिता, सुशासन, उत्पादनमूलक लगानी, रोजगारी सिर्जना तथा सामाजिक(आर्थिक रुपान्तरणका साझा लक्ष्यहरू प्रति नेपाल सरकार दृढतापूर्वक प्रतिवद्ध रहेको मन्त्रालयले जनाएके छ।


प्रतिक्रिया दिनुहोस्