जापानकाे ओइता सहरमा भीषण आगलागी, १७० भन्दा बढी भवन जलेर नष्ट
काठमाडाैं । दक्षिण जापानको एक तटीय शहरमा लागेको भीषण आगलागी हुँदा १७० भन्दा बढी भवन जलेका छन्। आगो रातभरि सल्किएको र अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको जापानको राष्ट्रिय दमकल एजेन्सीले जनाएको छ।
टोकियोबाट करिब ७७० किलोमिटर (४७८ माइल) दक्षिण–पश्चिममा अवस्थित ओइता सहरको सागानोसेकी जिल्लाका करिब १७५ स्थानीयबासीले मंगलवार बेलुका करिब ५:४० बजे (०८४० GMT) तिर आगलागी सुरु भएपछि आपतकालीन आश्रयस्थलमा शरण लिए, दमकल तथा विपद् व्यवस्थापन एजेन्सीले जनाएको हो।
एक व्यक्ति अझै बेपत्ता रहेको र आगलागीको कारणको अनुसन्धान भइरहेको पनि एजेन्सीले बताएको छ।
स्थानीय प्रसारकहरूले सार्वजनिक गरेका हवाई दृश्यमा आवासीय घरहरू पूर्ण रूपमा ध्वस्त हुँदै गएको र मत्स्य बन्दरगाहको माथिल्लो पहाडी बस्तीबाट बाक्लो धुवाँ उठिरहेको देखिन्थ्यो। यो बन्दरगाह उच्च गुणस्तरका सेकी–ब्रान्ड म्याकरेल माछाका लागि प्रसिद्ध मानिन्छ।
स्थानीय सञ्चारमाध्यमहरूले आगो नजिकका वनयुक्त पहाडी ढलानहरूमा पनि फैलिएको बताएका छन्।
ओइता प्रान्तका राज्यपालको अनुरोधमा एक सैनिक दमकल हेलिकोप्टर पठाइएको जापानी प्रधानमन्त्री सनाए ताकाइचीले एक्समा गरेकाे पोस्टमा जनाएकाे छ।













