घरजग्गा बजारले देखायो सकारात्मक संकेत : दोहोरो अंकमा बढ्यो कारोबार, राजश्व भने दबाबमा
काठमाडौं । केही महिनाको सुस्तापछि घरजग्गा कारोबारले पुन: सकारात्मक संकेत गरेको छ । गत कात्तिक महिनामा घरजग्गा कारोबार दोहोरो अंकमा वृद्धि भएको छ । एक महिनामै कारोबार झन्डै साढे २१ प्रतिशत बढेको देखिन्छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै उपलब्ध गराएको गत कात्तिक महिनाको कारोबारको आँकडाले यस्तो देखाएको हो । विभागका अनुसार गत कात्तिकमा २८ हजार ३८३ वटा घर जग्गाको लिखत पारित भएको छ । यो गत असोजको तुलनामा भने २१.५४ प्रतिशत धेरै हो । गत असोजमा देशभरका मालपोत कार्यालय मार्फत २३ हजार ३५३ वटा घरजग्गा कारोबार भएको थियो ।
पछिल्ला महिनाहरुमा घर जग्गा कारोबार घट्दो क्रममा थियो । चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारोबार सुस्त थियो । विभागका अनुसार गत साउनमा ३१ हजार ६२१ वटा लिखत पारित भएको थियो । तर, भदौमा भने घटेर २७ हजार ४९४ मा झरेको थियो ।
विशेषगरि कित्ताकाट रोकिएकाले नै कारोबार प्रभावित भएको थियो । स्थानीय तहको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको अवस्था थियो । जसका कारण समग्र घरजग्गा कारोबार नै सुस्ताएको अवस्था थियो । तर, हाल सरकारले भू–उपयोग नियमावली, २०७९ को तेस्रो संशोधन गर्दै अस्थायी रूपमा जग्गाको कित्ताकाट खुलाएको छ । अब स्थानीय तहले २०८३ असार मसान्तभित्र प्रत्येक कित्ता जग्गा कृषि वा गैरकृषि वर्गीकरण गर्नुपर्नेछ । पहिले वर्गीकरण नहुँदा साउनदेखि कित्ताकाट रोकिएको थियो । अब कित्ताकाटको समस्या समाधान र स्थानीय तहहरुले वर्गीकरण गरेपछि आगामी दिनमा थप कारोबार बढ्ने बताइन्छ ।
कात्तिकमा कारोबारमा सुधार आए पनि राजश्व भने दबाबमा देखिएको छ । गत असोजमा देशभरको कारोबारबाट सरकारले २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार रुपैयाँ बराबरको राजश्व प्राप्त गरेको थियो । तर, कात्तिकमा भने सामान्य घटेर २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार रुपैयाँ राजश्व उठेको छ । मुख्य शहरमा मँहगा मूल्यको घरजग्गा कारोबार न्यून भएपछि राजश्वमा प्रभावित भएको हो । कात्तिकमा ग्रामिण क्षेत्रका घरजग्गा किनबेच भएका छन् । तर, काठमाडौं उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा अझै पनि घरजग्गा किनबेच सुस्त नै छ ।
विभागका अनुसार गत कात्तिकमा सबैभन्दा धेरै भूमि सुधार तथा मालपोत इनरुवा सुनसरीमा १ हजार १५८ वटा घरजग्गा किनबेच भएको छ । यता, जनकपुरधाममा १ हजार १२० वटा, बेलबारी मोरङमा १ हजार १४, भद्रपुर झापामा १ हजार ३ वटा घरजग्गा किनबेच भएका छन् ।
कात्तिकमा रजिष्ट्रेशन दस्तुर बापत १ अर्ब ५० करोड ६२ लाख ९६ हजार उठेको छ । यस्तै, पुँजीगत लाभकर ९९ करोड ७८ लाख ४४ हजार र २१ करोड ३४ लाख ४७ हजार सेवा कर संकलन भएको विभागले जनाएको छ । राजश्वमा भने भूमि सुधार तथा मालपोत कार्यालय लगनखेल ललित पुरको योगदान धेरै छ ।कात्तिकमा मात्रै सो कार्यलय मार्फत ३२ करोड ७० लाख ७५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै, काठमाडौं डिल्ली बजार मार्फत २८ करोड ८२ लाख ७२ हजार, भक्तपुरबाट १९ करोड ४४ लाख ३९ हजार, कलंकी काठमाडौंबाट १८ करोड ५२ लाख, चावहिलबाट १५ करोड ७४ लाख २६ हजार रुपैयाँ बराबरको राजश्व संकलन भएको विभागले जनाएको छ ।
















