राजनीतिक दललाई अवरोध गरेर संक्रमणकाल लम्ब्याउने कोसिस भइरहेको हो ?
काठमाडौँ । बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरु दुई जना नेता भानुभक्त ढकाल र महेश बस्नेतलाई लिएर बारा जानै लागेका थिए । तर उनीहरुले त्रिभुवन विमानस्थलमा प्लेनसम्म पुर्याउने बसमात्रै के चढेका थिए, बारामा तनाव सुरु भइहाल्यो ।
आफ्नो नेतालाई स्वागत गर्न बाराको सिमरा विमानस्थल आइपुगेका एमाले कार्यकर्ता र केही जेनजी प्रतिनिधीबीच झडप भयो । यस घटनामा एमाले कार्यकर्ताले आफ्ना नेतालाई जिल्लामा प्रवेश गर्न रोकिएको बताएका छन् ।
अर्कातिर सम्राट उपाध्यायको संयोजनमा बुधबार विहानै विमानस्थल बाहिर जेनजी युवाहरु जम्मा भए । उनीहरुले विहान १० बजे सिमरामा कार्यक्रम राखेको बताए ।
एमालेको सभा भने परवानीपुरमा राखिएको थियो । त्यो ठाउँ सिमराको विमानस्थलबाट करिब २० किलोमिटरको दूरीमा छ । एमाले कार्यकर्ताका अनुसार जेनजी अभियान्ता भनेर केही युवाले एमालेको केन्द्रिय नेताहरुलाई विमानस्थलबाट बाहिर निस्कनै नदिने रणनीति बनाएको आरोप लगाएका छन् । उता जेनजीको बारा जिल्ला संयोजकसमेत रहेका उपाध्यायले एमाले कार्यकार्ता आएर आफ्ना साथिहरुलाई हातपात गरेको आरोप लगाएका छन् ।
यसरी दुईपक्षीय झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्यो । विमानस्थल बन्द गरियो । शङ्कर पोखरेलसहितको एमाले नेताहरुमात्रै होइन, सिमरा प्रस्थान गर्न लागेका कयौँ यात्रुहरु काठमाडौँको विमानस्थलमै रोकिए । उनीहरु चढिसकेको प्लेनबाट बाहिर निस्किए र घर लागे ।
एमालेले काठमाडौँमा पत्रकार सम्मेलन गरेर जेनजीको विरोध गर्यो । उता जेनजीका अभियान्ताले महेश बस्नेतलाई मधेश प्रदेशमा छिर्नै नदिने गरी प्रतिबन्ध गर्न सरकारसँग अनुरोध गरेको समाचारहरु सार्वजनिक भएका छन् ।
यो घटनालाई लिएर सामाजिक सञ्जालमा भिन्नभिन्न पक्षले आफ्नै विचारअनुसारको टिप्पणी गर्दै आएका छन् । तर कानूनका जानकारहरु यस घटनालाई स्वाभाविक रुपमा लिँदैनन् ।
संवैधानिक कानूनका जानकार भीमार्जुन आचार्यले लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताका सीमा र मर्यादा हुन्छन्, त्यसको पालना र सम्मान हरेक व्यक्ति र नागरिकले गर्नु पर्छ । यसको नियमन राज्यले गर्न पाउँछ। तर, रातको समयमा परिवारसंग रहेको व्यक्तिलाई गिरफ्तार गर्नु कानूनत: बर्जित कार्य हो । नागरिक शासनको निकै ठूलो धब्बा पनि हो। यस्तो हर्कत गर्न सरकारलाई केले बाध्य बनायो ? जबाफ चाहियो सरकार ।’
त्यसो त नेपालको संविधानले पनि यस प्रकारको गतिविधी गर्न अनुमति दिँदैन । संविधानको धारा १७ को उपधारा २ मा विचार र अभिव्यक्ति दिन, शान्तिपूर्ण भेला हुन, राजनीतिक दल खोल्न, संघसंस्था खोल्न, नेपालको कुनै पनि भागमा आवतावत गर्न र बसोबास गर्न स्वतन्त्रता दिएको छ ।

यो घटनाको सन्दर्भ गत भदौ २० मा रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनसँग जोडिन्छ । त्यो बेला जेनजी आन्दोलनमा सडकमा पानी बाँढिरहेका र पछि सरकार बनाउने बेला केन्द्रिय भूमिका निर्वाह गरेका सुधन गुरुङले नेताहरूलाई घरबाट निस्कनै नदिने बताएका थिए ।
‘आन्दोलनले के उपलब्धि दियो ? ६ महिनापछि तिनै दल आउँछन्’ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भनेका थिए, ‘हामी फेरि आन्दोलन गर्छौं । आउनै दिँदैनौँ । घरबाट बाहिर निस्कनै दिँदैनौँ । म निस्कन दिन्नँ ।’
परम्परागत राजनीतिक दलका नेतालाई घरबाट निस्कनै नदिने, कार्यकर्तासँग आफ्ना कुरा राख्नै नदिने र भोट माग्न पनि नदिने उनले बताएका थिए । जसरी काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन साहले ‘सिंहदरबार जलाइदिन्छु’ भनेको कुरा जेनजी आन्दोलनमा ‘फलित’ भयो, त्यसरी नै गुरुङले काठमाडौँमा भृकुटीमण्डपमा बोलेको कुरा बाराको विमानस्थलमा देखिएको छ ।
यता प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेतालाई बोलाएर भनेकि छिन्, ‘चुनावमा भाग नलिए लोकतन्त्र भन्दा अराजकता रोजेको ठहरिन्छ ।’ अर्कातिर जेनजी युवा भनिने समूहले दलका नेतालाई आफ्ना कार्यकर्ताको बीचमा जानै नदिने प्रयास थालेका छन् ।
‘काठमाडौँको सडकमा १०–२० हजार मान्छे उतारेर विध्वंश मच्चाएको र त्यही विध्वंशको जगमा असंवैधानिक सरकार गठन गरेको’ भन्दै नेकपा एमालेले प्रतिनिधी सभाको पुन:स्थापनाको माग अघि सारेको छ । अझ असंवैधानिक रुपमा कसैलाई आवतजावत गर्नै नदिने गैह्रकानूनी अभ्यास बढ्न थालेमा चुनावभन्दा पनि अराजकता बढ्ने र विद्यमान कार्की नेतृत्वको सरकारको आयु लम्ब्याएर संक्रमणकाललाई अझ लामो र चुनौतीपूर्ण बनाउने ध्येय रहेको आरोप एमालेको छ ।
नेपालकी कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पनि लेखेका छन्, ‘सिमरा घटना त कास्टिड।–मात्र हो ।’ ‘हाम्रो पार्टीमा पनि राष्टिय चुनावको बारेमा पैरवी गर्ने साथीहरू हुनूहुन्छ । मानौँ देशमा भएको कहाली लाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ जस्तो गरी’, उनले विद्यमान सरकारले संक्रमण काल लम्ब्याउने कोसिस गरेको र कांग्रेसको एउटा खेमा त्यसलाई सघाउन लागेको आशयमा कटाक्ष गर्दै लेखेका छन् ।













