चीनको संवेदनशील सैनिक हवाई मार्ग किन चाहान्छ भारत ? पाकिस्तानी प्रतिबन्धले निम्त्यायो संकट
काठमाडौं । वित्तिय चुनौतिहरुसँग लडिरहेको भारत सरकारको सहयोग खोजिरहेको छ ।
भारतिय विमानका लागि पाकिस्तानी हवाई मार्ग प्रतिबन्ध हुँदा एयर इन्डियालाई ठूलो आर्थिक बोझ थपिएको छ।
यस्तो बोझ कम गर्न चीनको सिन्ज्याङ हवाई क्षेत्रमा उडान खुलाउन एयर इन्डियाले भारतीय सरकारलाई कूटनीतिक पहल गर्न दबाब दिइरहेको रायटर्सले उल्लेख गरेको छ ।
भारत–चीनबीच हिमालयमा भएको सीमा झडपको पाँच वर्षपछि दुई देशबीचको सिधा उडान सुरु भएको केहि समयपछि एयर इन्डीयाले यस्तो पहल गरेको हो ।
गत जुन महिनामा भारतको अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डिया फ्लाइट १७१ विमान दुर्घटनाग्रस्त भएर २६० जनाको मृत्यु भएको र सुरक्षाका कारण केही समय उडान कटौती गर्नुपरेपछि आफ्नो प्रतिष्ठा र अन्तर्राष्ट्रिय सञ्जाल पुनः स्थापित गर्ने प्रयासमा छ।
तर अप्रिलको अन्त्यतिर भारत र पाकिस्तानबीच कूटनीतिक तनाव चर्किएपछि पाकिस्तानले भारतीय उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेपछि अवस्था जटिल बन्दै गएको हो ।
पाकिस्तानको हवाई मार्ग प्रतिबन्धपछि एयर इन्डियाको ईन्धन खर्च २९ प्रतिशत सम्म बढेको छ भने लामो दूरीका मार्गमा यात्रा समय तीन घण्टासम्म लम्बिएको कम्पनीको दस्ताबेजमा उल्लेख छ ।
टाटा समूह र सिंगापुर एयरलाइन्सले स्वामित्वमा राखेको एयर इन्डियाले पाकिस्तान हवाई क्षेत्र बन्द हुँदा करबाहेक नाफामा वार्षिक ४५५ मिलियन डलर असर परेको अनुमान सार्वजनिक गरेको छ। जबकि आर्थिक वर्ष २०२४–२५ मा यसको घाटा ४३९ मिलियन डलर थियो।
भारत सरकार चीनलाई कूटनीतिक रूपमा अनुरोध गरी उइगुर स्वायत्त क्षेत्रका होटन, काश्गर र उरुम्चीमा आपतकालीन अवतरणको व्यवस्था र वैकल्पिक मार्ग अनुमति पाउनुपर्ने एयर इन्डियाको मागको अध्ययन गरिरहेको बताइएको छ ।
यदि भारतिय विमानले चीनको हवाई मार्ग प्रयोग गर्न पाए अमेरिका, क्यानडा र युरोप पुग्ने उडानलाई छोटो बनाउन सकिने छ ।
एयर इन्डियाको अनुमान अनुसार चीनको होटन मार्ग खुलेमा ईन्धन लागत र अतिरिक्त उडान समय काफी घट्नेछ। न्युयोर्क–दिल्ली तथा भ्यानकुभर–दिल्लीजस्ता मार्गमा घटाइएको १५ प्रतिशत क्षमताको पुनःस्थापना हुनेछ, र साप्ताहिक करिब १.१३ मिलियन डलर घाटा न्यूनीकरण हुनेछ।
अनुमति पाउने सम्भावना न्युन
चीनको सिन्ज्याङ क्षेत्रमा पर्ने यो सैन्य हवाईमार्ग अत्यन्त संवेदनशील मानिन्छ ।
एयर इन्डिया प्रवेश पाउन चाहेको चिनियाँ हवाई क्षेत्र संसारका २० हजार फिट (६ हजार १०० मिटर) वा सोभन्दा अग्ला हिमाली पर्वतहरूले घेरेको छ भने डीकम्प्रेशन जस्ता दुर्घटना जोखिमका कारण अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले यो मार्ग गर्न मान्दैनन् ।
सबैभन्दा महत्वपूर्ण कुरा, यो क्षेत्र चिनियाँ जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्ड अन्तर्गत पर्छ, जसकहाँ मिसाइल, ड्रोन र हवाई–रक्षा प्रणालीहरू व्यापक रूपमा तैनाथ छन् र केही नागरिक विमानस्थलहरू सेनासँग साझा छन्।
चीनमा सैन्य नियन्त्रण अन्य देशभन्दा धेरै कडा भएकाले हवाई मार्गहरू सीमित छन्। एयरनभ रडारको तथ्यांकअनुसार गत १२ महिनामा होटन विमानस्थलमा कुनै पनि गैर–चिनियाँ एयरलाइन्स अवतरण वा प्रस्थान गरेको छैन।
एयर इन्डियाले प्रयास गरे पनि चीनले अनुमति दिने सम्भावना न्यून रहेको विश्लेषकहरु बताउँछन् । जटिल भूभाग, आपतकालीन विमानस्थलको कमी तथा सुरक्षा चुनौतिका कारण यस्तो सम्भव नभएको उनीहरुको भनाइ छ।
वित्तिय संकटमा एयर इन्डिया
हवाई क्षेत्र प्रतिबन्ध चाँडै हट्ने संकेत नभएकाले एयर इन्डियाले पाकिस्तान हवाई क्षेत्र खुल्ने बेलासम्म अस्थायी अनुदान समेत माग गरेको छ ।
७० अर्ब डलर मूल्यका विमान अर्डर गरिसकेको एयर इन्डिया पुराना करसम्बन्धी मुद्दा समाधान गर्न पनि सरकारी सहयोग चाहन्छ।
भारत सरकारले २०२२ मा टाटालाई बेच्दा पुराना दाबीहरूबाट एयर इन्डियालाई सुरक्षित गर्ने वाचा गरेको थियो, तर ७२५ मिलियन डलर बराबरका पुराना कर दाबीसम्बन्धी सूचनाहरू फेरि आउन थालेका छन्, जसले कानुनी र प्रतिष्ठागत जोखिम बढाएको दस्तावेजमा उल्लेख छ।













