विहारमा नीतिश कुमारको १० औँ इनिङ, मुख्यमन्त्री पदको लिए सपथ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

विहारमा नीतिश कुमारको १० औँ इनिङ, मुख्यमन्त्री पदको लिए सपथ



काठमाडौँ । नेपालको सीमावर्ती भारतीय राज्य विहारमा ७४ वर्षीय नीतिश कुमारले बिहीबार दशौं पटक मुख्यमन्त्रीको रूपमा शपथ लिए।

आजभन्दा २५ वर्षअघि जम्मा १० दिनका लागि मुख्यमन्त्री बनेका नीतिश झण्डै १९ वर्षदेखि भने लगातार त्यहाँको शासनमा छन् । हालै सम्पन्न विहारको विधानसभा निर्वाचनमा नीतिशको जनता दल युनाइटेड (जेडीयू) र भारतीय जनता पार्टी (बीजेपी) लगायतको गठबन्धनले ‘बम्पर’ जीत निकालेको थियो ।

बीजेपी नेतृत्वको नेशनल डेमेक्रेटिक अलायन्स (एनडीए)ले २०२ सीट जितेपछि उनले पुन: एक पल्ट मुख्यमन्त्रीको सपथ लिएका हुन् । विहार विधान सभाको निर्वाचनमा यो गठबन्धनको नेतृत्व पनि नीतिशले नै गरेका थिए । उक्त गठबन्धनले कुल २४३ सीटमध्ये ८३ प्रतिशतभन्दा बढी विधायक पठाएको छ ।

१३ करोडभन्दा ज्यादा जनसंख्या र ७ करोड ४२ लाख हाराहारी मतदाता भएको विहारमा यो साल करिब ६७ प्रतिशतको कीर्तिमानी मतदान भएको थियो ।

नेपालको गण्डकी नदी अर्थात् सुस्तादेखि पूर्व र झापामा भद्रपुरदेखि दक्षिणको सीमा विहारसँग जोडिएको छ । नेपालका मधेश, कोशी, वागमती र गण्डकी प्रदेशको सीमा विहारसँग जोडिएको छ । खासगरी काठमडौँ र पहाडका विभिन्न शहरी क्षेत्रमा समेत पुगेर नाई इत्यादी काम गर्ने मानिसहरु विहारबाट आएका भेटिन्छन् । यस आधारमा पनि विहारको राजनीतिक, सामाजिक र आर्थिक पक्षले नेपाललाई प्रभाव पारिरहेको हुन्छ ।

खासगरी मधेश प्रदेश र भारतको विहार राज्यका नागरिकबीच विवाह तथा अन्य पारिवारिक सम्बन्धहरु पनि सदियौँदेखि चल्दै आएको छ । कुनै बेला गरिबीको चपेटामा रहेको भनिने विहारलाई नीतीशले डेढ दशकभन्दा लामो शासनकालमा निकै उन्नत बनाउने कोसिस गरेका छन् । उनले त्यहाँका महिला र दलित समुदायको उत्थानमा ठूलो भूमिका खेलेको बताइन्छ ।

नीतीशको क्याबिनेटमा भाजपाका सम्राट चौधरी र विजय कुमार सिन्हाले पनि मन्त्रीको रूपमा शपथ लिएका छन् । यी दुवै जना अघिल्लो सरकारमा उपमुख्यमन्त्री थिए।

पटनाको गान्धी मैदानमा आयोजित शपथ ग्रहण समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र धेरै राज्यका मुख्यमन्त्रीहरू उपस्थित थिए। सम्राट चौधरी र विजय कुमार सिन्हाका साथै विजय कुमार चौधरी, मंगल पाण्डे, श्रवण कुमार र लेशी सिंह सहित २६ मन्त्रीहरूले मन्त्रीको रूपमा शपथ लिए।

२६ मन्त्रीहरूमध्ये तीन महिला र एक मुस्लिम विधायक छन्। महिला विधायकहरूमध्ये लेशी सिंह जनता दल (युनाइटेड) की विधायक हुन्। रमा निषाद र श्रेयसी सिंह भाजपाका विधायक हुन्। एक मात्र मुस्लिम मन्त्री, मोहम्मद जमा खान, जेडीयूकी विधायक हुन्। उनले चैनपुर विधानसभा सिट जितेकी थिइन् ।

बुधबार विधानसभाको सेन्ट्रल हलमा बसेको २०२ सदस्यीय एनडीए विधायकहरूको बैठकमा नीतिश कुमारलाई सर्वसम्मतिले गठबन्धनको नेता चयन गरिएको थियो। जेडीयूले छुट्टै बैठकमा नीतिश कुमारलाई आफ्नो संसदीय दलको नेताको रूपमा पनि चयन गरेको थियो।

बुधबार नवनिर्वाचित भारतीय जनता पार्टी (भाजपा) विधायकहरूको बैठकमा, उत्तर प्रदेशका उपमुख्यमन्त्री तथा पार्टीका केन्द्रीय पर्यवेक्षक केशवप्रसाद मौर्यले सम्राट चौधरीलाई भाजपा संसदीय दलको नेता र विजय कुमार सिन्हालाई उपनेता घोषणा गरे।

बिहार विधानसभा चुनावमा गत हप्ता एनडीएले भारी जित हासिल गर्दै सत्तामा फर्किएको थियो। एनडीएले २४३ मध्ये २०२ सिट जितेको थियो। बीजेपीले ८९, जेडीयूले ८५, एलजेपी (आर)ले १९, हिन्दुस्तानी अवाम मोर्चाले ५ र आरएलएमले ४ सिट जितेका छन् ।

मन्त्रीहरुको नामावली

भाजपा

  • सम्राट चौधरी
  • विजय कुमार सिन्हा
  • दिलीप जैसवाल
  • मंगल पाण्डे
  • रामकृपाल यादव
  • नितिन नवीन
  • सञ्जय सिंह टाइगर
  • अरुण शंकर प्रसाद
  • सुरेन्द्र मेहता
  • नारायण प्रसाद
  • रमा निषाद
  • लखेन्द्र सिंह रोशन
  • श्रेयसी सिंह
  • प्रमोद कुमार

जनता दल युनाइटेड

  • विजयकुमार चौधरी
  • बिजेन्द्र प्रसाद यादव
  • श्रवण कुमार
  • अशोक चौधरी
  • लेशी सिंह
  • मदन साहनी
  • सुनिल कुमार
  • मोहम्मद जमा खान

लोक जनशक्ति पार्टी (रामविलास)

  • सञ्जय कुमार
  • सञ्जय कुमार सिंह
  • हिन्दुस्तानी अवाम मोर्चा
  • सन्तोष सुमन (जितनराम मांझीका छोरा)

राष्ट्रिय लोक मोर्चा

  • दिपक प्रकाश (उपेन्द्र कुशवाहाका छोरा)


प्रतिक्रिया दिनुहोस्