बन्चरेडाँडामा अवरोध हट्यो, अब काठमाडौंको फोहोर व्यवस्थापन सहज
काठमाडौं । बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन रोकिँदै आएको अवरोध हट्ने भएको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बिहीबार सरकार र स्थानीयवासीबीच ११ बुँदे सम्झौता भएपछि फोहोर ढुवानी तथा व्यवस्थापन नियमित रूपमा सञ्चालन हुने बाटो खुलेको हो ।
बैठकमा भएका निर्णयअनुसार बन्चरेडाँडाका स्थानीयविरुद्ध विगतमा दर्ता भएका मुद्दाहरू छिटो टुंग्याएर आवश्यक पत्राचार गर्ने प्रक्रिया तत्काल अघि बढाइने छ ।
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनका कामलाई तीव्रता दिन परामर्शदाता कम्पनीसँग लिखित प्रतिबद्धता सहित छिटो निष्कर्षमा पुग्न निर्देशन दिने सहमति गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा ईआईए प्रतिवेदन अनुसार आवश्यक जग्गा अधिग्रहणका लागि रकम व्यवस्था गर्ने तयारी पनि सरकारको रहनेछ ।
स्थानीय क्षतिपूर्तिसम्बन्धी विषयमा काठमाडौं महानगरपालिकालाई थप जिम्मेवारी तोकिएको छ । चालु आर्थिक वर्ष २०८२–८३ भित्रै घर–टहरा तथा बाली नोक्सानीका बापतका मुआब्जा वितरण प्रक्रियालाई अघि बढाउन महानगरलाई पत्राचार गर्ने निर्णय भएको छ ।
यस्तै, सिसडोल क्षेत्रका स्थानीयलाई दिँदै आएको मापदण्डलाई आधार मानेर बन्चरेडाँडाका अतिप्रभावित बासिन्दालाई एक महिनाभित्र क्षतिपूर्ति उपलब्ध गराउने समझदारी पनि बनेको छ ।
फोहार उत्सर्जन गर्ने नगरपालिकाहरमा बञ्चरे ल्याण्डफिल साइटका प्रभावितहरुलाई रोजगारीको अवसरका लागि मेयरस फोरम वा मन्त्रालयबाट आह्वान हुने बैठकमा एजेन्डाको रुपमा प्रस्तुत गर्ने, महानगरले २ वटा पालिकालाई दिँदै आएको ३–३ करोड रकमलाई वृद्धि गरि ६–६ करोड पुर्याउनका साथै अब आगामी आवमा थप गरि बेलकोटगढी नगरपालिकालाई समेत समावेश गर्ने महानगरपालिकालाई अनुरोध गर्ने र फोहोर उत्सर्जन गर्ने अन्य नगरपालिकालाई समेत अनिवार्य योग्दान गर्न मन्त्रालयले अनुरोध गर्ने निर्णय भएको छ ।















