लघुवित्तको नाफामा अप्रत्याशित उछाल, एकाएक कसरी आयो वित्तीय स्वास्थ्यमा चमक ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

लघुवित्तको नाफामा अप्रत्याशित उछाल, एकाएक कसरी आयो वित्तीय स्वास्थ्यमा चमक ?



काठमाडौं । लघुवित्त कम्पनीहरुको वित्तीय स्वास्थ्यमा एकाएक चमक आएको छ । कम्पनीहरुले नाफा साढे २ गुणा बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै बैंकहरु, फाइनान्स, बीमा कम्पनीहरुले नोक्सानी व्योरेका छन् । तर, लघुवित्त कम्पनीहरुको वित्तीय चित्र भने उत्साहजनक रुपमा फेरिएको छ ।

हाल संचालनमा रहेका ५० लघुवित्तहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विवरण अनुसार कम्पनीहरुको नाफा २.६१ गुणा अर्थातघ् १६१.४० प्रतिशत वृद्धि भएको छ । चालु आवको तीन महिनामा कम्पनीहरुले २ अर्ब ६ करोिड ६७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जबकि, गत आवको सोही अवधिमा ती कम्पनीहरुको औसत नाफा ७९ करोड ६ लाख रुपैयाँमा सिमित थियो ।

गत आवको पहिलो त्रैमासमा डेढ दर्जन बढी कम्पनीहरु घाटामा थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ४ वटा लघुवित्त मात्रै नोक्सानीमा देखिएका छन् ।

विशेषगरि लघुवित्तहरुको खुद ब्याज आम्दानी पनि दोहोरो अंकमा वृद्धि भएको छ । खुद ब्याज आम्दानी बढेसँगै खुद नाफामा चमत्कारिक बढोत्तरी आएको हो । समिक्षा अवधिमा कम्पनीहरुको खुद ब्याज आम्दानी २५.२७ प्रतिशत वृद्धि भएको छ ।

बैंकहरूको आधारदर लगातार घटेपछि ब्याजदर पनि सस्तिएको छ । यही मौकामा लघुवित्तले सस्तोमा ऋण लिन पाएका छन् र त्यही ऋण थोरै मार्जिनमै दिँदा समेत नाफा बढेको जानकारहरु बताउँछन् । केही ऋणीले ब्याज भुक्तानी गर्न थालेकाले लघुवित्तको अवस्था केही सहज देखिएको छ । यद्यपि, पुनर्संरचना प्रक्रियाका कारण खराब कर्जा भने बढेको छ ।

चालु आवको पहिलो त्रैमासमा सर्वाधिक नाफामा छिमेक लघुवित्तले २६ करोड ९० लाख रुपैयाँ कामाएको छ । यो गत वर्षको तुलनामा भने १३.२७ प्रतिशत धेरै हो । दोस्रो स्थानमा रहेको साना किसान लघुवित्तले २२ करोड ८४ लाख र तेस्रो स्थानमा रहेको डिप्रोक्स लघुवित्तले २० करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यता, जीवन विकास लघुवित्तले १४ करोड ५८ लाख, नेशनल लघुवित्तले १४ करोड ४२ लाख, निर्धन उत्थानले १२ करोड ६१ लाख र ग्रामिण विकास लघुवित्तले १२ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ ।

वृद्धिदरका आधारमा भने एनआइसी एशिया, महुली, गणपति, सपोर्ट, नेष्डा समृद्धि, युनिक नेपाल, उन्नती सहकार्य, लक्ष्मी लघुवित्त, एनएमबि, ग्लोबल आइएमई र हिमालयन लघुवित्त शीर्ष सूचीमा छन् ।

तर, चालु आवको पहिलो त्रैमासमा मातृभूमि, सिर्जनशील, सीवाइसी नेपाल र मेरो माइक्रोफाइनान्सले भने नोक्सानी व्यहोरेका छन् । गत वर्षको तुलनामा आठ वटाको नाफामा गिरावट आएको छ ।

कसको नाफा–घाटा कति ?


प्रतिक्रिया दिनुहोस्