अमेरिकाले रूस-युक्रेन शान्ति सम्झौताका लागि दबाब बढाउँदा १.५ प्रतिशत घट्यो कच्चा तेलको मूल्य - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिकाले रूस-युक्रेन शान्ति सम्झौताका लागि दबाब बढाउँदा १.५ प्रतिशत घट्यो कच्चा तेलको मूल्य



काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। अमेरिकाले रूस–युक्रेन शान्ति सम्झौताका लागि दबाब दिएपछि विश्व बजारमा तेल आपूर्ति बढ्ने सम्भावना देखिएसँगै तेलको मूल्यमा गिरावट आएको हो।

शुक्रबार ब्रेन्ट क्रूड फ्युचर्सको मूल्य ९३ सेन्ट (१.५ प्रतिशत) ले घटेर प्रति ब्यारेल ६२.४५ डलरमा झरेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (WTI) ९८ सेन्ट (१.७ प्रतिशत) घटेर प्रति ब्यारेल ५८.०२ डलरमा पुगेको छ। विश्लेषकहरूले यस हप्तामा दुवै बेंचमार्कको मूल्य २.५ प्रतिशतभन्दा बढी घट्ने अनुमान लगाएका छन्।

बजारमा गिरावट आउनुमा मुख्य कारण अमेरिकी दबाबमा तयार भएको रूस–युक्रेन शान्ति योजना हो, जसले युद्धको प्रभाव कम गर्दै विश्व बजारमा तेल आपूर्ति बढाउने अपेक्षा गरिएको छ।

त्यस्तै, रुसका ठूला तेल उत्पादक कम्पनीहरू रोसनेफ्ट र लुकोइलमाथि लगाइने अमेरिकी प्रतिबन्ध शुक्रबारदेखि लागू हुन लागेका छन्, जसले पनि बजारमा दबाब सिर्जना गरेको छ।

साथै, फेडरल रिजर्भको ब्याजदर कटौतीको अनिश्चितता र अमेरिकी डलरको मजबुत स्थिति लगानीकर्ताको जोखिम लिने चाहना कम गराउँदै तेलको मूल्यमा तल झर्ने कारण बनेको बताइएको छ। डलर बलियो हुनु तेल अन्य मुद्रामा खरिदकर्ताका लागि महँगो बनाउने भएकाले मूल्यमा दबाब बढेको विश्लेषण गरिएकाे छ ।


प्रतिक्रिया दिनुहोस्