महेश बस्नेतको चेतावनी : ‘एमालेका नेता बयानमा बोलाए १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्नेछन्’
काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरुलाई कुनै आयोगका नाममा बयान दिन बोलाएमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने बताए ।
नेसनल भोलेन्टियर फोर्स (एनभिएफ)को घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले असंवैधानिक कार्की आयोगले बयानमा बोलाउने भन्दै बेला बेला हल्ला फिंजाएको भन्दै उनले त्यसो भएमा आज भेला भएका भन्दा पाँच गुणा मानिस सिंहदरबार प्रवेश गर्ने चेतावनी दिए ।
भदौ २४ गतेको अराजक जत्थाजस्तो एनभिएफले तोडफोड र आगजनी गर्ने बताए । ‘हामी भदौ २४ गतेका अराजकहरु जस्तो सिंहदरबार तोडफोड र आगजनी गर्दैनौ ’बस्नेतले भने,‘बरु फूलमाला लगाएर सुशीला कार्की मन्त्रीहरुलाई सिंहदरबाट बिदाइ गर्नेछौं ।’
बस्नेतले १ लाख जनताको उपस्थितीमा सिंहदरबार भित्रै आफूहरुले आमसभा आयोजना गर्ने पनि बताए । नेपो बेबी भनेर विभिन्न नेताका छोराछोरीलाई आतंकित पारिरहेकोमा उनले अहिलेको सरकारमा भएका ११ जनाका छोराछोरी विदेशमा भएकोले आफूतिर आउन सक्ने आरोपलाई अन्त पन्छाएको बताए । ‘अहिलेको सरकारका प्रधानमन्त्री, मन्त्री र सरकार सम्बद्ध ११ जनाका छोराछोरी विदेशमा बस्छन्’ बस्नेतले भने ‘नेपो बेबीका ड्याड मम्स्ले शासन चलाएका छन् । यो जायज छैन ।’
एनभिएफको घोषणा कार्यक्रम अहिले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा बबरमहलमा भइरहेको छ । पार्टीको नीति, नेतृत्व, प्राकृतिका प्रकोपमा राहात तथा उद्धारका लागि यो फोर्स परिचालन हुने बस्नेतले बताए ।













