३३ वर्ष पुरानो अध्यागमन ऐन समयसापेक्ष बनाउन सुझाव
काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले ३३ वर्ष पुरानो अध्यागमन ऐन, २०४९ समयसापेक्ष नभएको भन्दै नयाँ कानुन निर्माण आवश्यक रहेको औँल्याएको छ ।
सभापति मायाप्रसाद शर्माका अनुसार हालको ऐन वर्तमान परिस्थिति र प्राविधिक विकाससँग मेल खाँदैन । नयाँ कार्यविधिले केही सहजता ल्याए पनि, मूल ऐनसँग मेल खाने सहायक कानुन तत्काल तयार गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
समितिमा आमन्त्रण गरिएका विज्ञहरूले नयाँ विधायन ऐन, २०८१ अनुसार केही कानुन निष्क्रिय हुने भएकाले सरकारले समयसापेक्ष सहायक कानुन बनाएर कानुनी मार्ग सुनिश्चित गर्नुपर्ने सुझाएका छन् ।
बैठकमा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी र अन्य अधिकारीहरूले राष्ट्रिय सुरक्षा, प्रविधि प्रयोग, नयाँ भिसा प्रकार र प्रवेशाज्ञा प्रणाली सुधार गर्नुपर्नेमा ध्यान दिनुपर्ने बताएका छन्। छलफलमा नागरिकहरू अन्य देशमार्फत अवैध रूपमा यात्रा नगर्ने गरी प्रवेशाज्ञा प्रणाली सहज बनाउनुपर्ने विषय पनि उठाइएको थियो ।













