९ श्रावण २०८३, शनिबार

मितेरी पुल बाढीले बगाएपछि केरुङ नाका पाँच महिनादेखि ठप्प



काठमाडौं । नेपाल–चीन व्यापारका लागि महत्वपूर्ण मानिँदै आएको केरुङ नाका करिब पाँच महिनादेखि पूर्ण रूपमा अवरुद्ध छ ।

गत असार २४ मा चीनको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि दुवै देशबीचको यो प्रमुख नाका सञ्चालनमा आउन सकेको छैन ।

बाढीका कारण नेपालतर्फका सयौँ ट्रक तथा कन्टेनर बग्नुका साथै झन्डै ३०० कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामै रोकिएको व्यापारीहरूको भनाइ छ । ढुवानी ठप्प हुँदा चीनबाट सामान आयात गर्ने व्यवसायी गम्भीर आर्थिक संकटमा परिरहेका छन् ।

नाका बन्दसँगै राजस्व संकलनमा पनि ठूलो असर परेको छ । चालु आर्थिक वर्षका पहिलो चार महिनामा १३ अर्ब ५३ करोड राजस्व संकलन लक्ष्य राखिएको थियो । तर, नाका नखुलेको कारण झन्डै १४ अर्ब रुपैयाँ बराबरको राजस्व गुमेको भन्सार अधिकारीहरूको आकलन छ ।

काठमाडौंदेखि करिब १३२ किलोमिटर दूरीमा रहेको केरुङ भन्सार कार्यालय राजस्वका आधारमा देशको पाँचौं ठूलो भन्सार हो । विस्तार हुँदै गरेको व्यापारिक मार्गको रूपमा रहेको यो नाका महिनौँदेखि ठप्प हुँदा चीनतर्फको आपूर्ति श्रृंखला पनि प्रभावित भएको छ ।

चीनतर्फ पुल निर्माण अन्तिम तयारीमा पुगेको र नेपालतर्फका अवरुद्ध सडक खुलिसकेको जानकारी स्थानीय प्रशासनले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्