३ महिनाका लागि थप ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज फेरि थप ५० अर्ब रुपैयाँ तान्ने भएको छ।
निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ८४ दिनको लागि थप ५० अर्ब निक्षेप संकलन गर्न लागेको हो।
अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजे बोलकबोल हुने निक्षेप संकलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी फागुन ५ गते हुनेछ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।













