एबिसी आयलको व्यापार तीन गुणा बढ्यो : एकै वर्ष साढे ४ अर्बको कारोबार, ६० हजार मेट्रिक टन प्रशोधन क्षमता - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एबिसी आयलको व्यापार तीन गुणा बढ्यो : एकै वर्ष साढे ४ अर्बको कारोबार, ६० हजार मेट्रिक टन प्रशोधन क्षमता



काठमाडौं । देशको तेल उद्योगमा आफ्नो बलियो उपस्थिति बनाउँदै आएको एबीसी आयल इन्डस्ट्रीजको व्यापारमा उल्लेख्य बढोत्तरी देखिएको छ । कम्पनीको व्यापार एकै वर्ष ३ गुणा बढेको देखिन्छ ।

केयर रेटिङ नेपाल लिमिटेडबाट प्राप्त एक विवरण अनुसार कम्पनीको एकै वर्ष झन्डै साढे ४ अर्बको व्यापार गरेको छ ।
कम्पनीले गत वर्ष सन् २०२५ मा ४ अर्ब ३५ करोड ९० लाख रुपैयाँको कुल कारोबार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा ३.०८ गुणा बढी हो । गत वर्ष कम्पनीले १ अर्ब ४१ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

लगातार विस्तार र निर्यातमैत्री वातावरणका बीच कम्पनीको व्यापारमा उछाल आएको हो । कम्पनीले सन् २०२३ मा पनि २ अर्ब १२ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

सन् २०२१ मा स्थापना भएको कम्पनीले २०२२ को मेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । हालसालै पब्लिक कम्पनीमा रूपान्तरण भएको एबीसी आयल इन्डस्ट्रीजको वार्षिक प्रशोधन क्षमता ६० हजार मेट्रिक टन रहेको छ ।

कम्पनीले ३६ हजार मेट्रिक टन पाम तेल, १२ हजार मेट्रिक टन सनफ्लावर तेल र त्यत्तिनै परिमाणमा भटमास तेल प्रशोधन गर्ने क्षमता राख्छ ।

कम्पनीले कच्चा तेल इन्डोनेसिया, मलेसिया, रुस, अर्जेन्टिना, चीन र युक्रेनबाट आयात गर्छ । प्रशोधनपछि उत्पादित तेल नेपाली बजारसँगै भारतमा समेत ठूलो परिमाणमा निर्यात हुँदै आएको छ । भारतले गत वर्ष सेप्टेम्बरमा कच्चा तथा प्रशोधित तेलमा भन्सार दर बढाउँदा नेपाली उद्योगहरूलाई प्रत्यक्ष लाभ पुगेको थियो ।

विशेषगरी कच्चा सनफ्लावर तेलमा २० प्रतिशत र प्रशोधित तेलमा ३२.५ प्रतिशत भन्सार वृद्धि भएपछि नेपाली प्रशोधन उद्योगको निर्यात प्रतिस्पर्धा झन् बढेको थियो । तर, हाल भारतले कच्चा तेलमा भन्सार दर घटाएर १० प्रतिशत र आयात शुल्क २७.५ बाट १६.५ प्रतिशतमा झारेपछि भविष्यको व्यापार प्रवाहमा केही उतारचढाव आउने अनुमान गरिन्छ ।

कम्पनी हाल अध्यक्ष सञ्जय कोइरालाको नेतृत्वमा अगाडि बढिरहेको छ । कम्पनीले कर्जा सुविधाका लागि २ अर्ब ६० करोड २५ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । जसमध्ये ३० करोड २५ लाख रुपैयाँ दीर्घकालीन कर्जा र २ अर्ब ३० करोड रुपैयाँ अल्पकालीन कर्जाको रेटिङ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्