९ श्रावण २०८३, शनिबार

होन्डाको रणनीतिले तातिँदै हाइब्रीड बजार, एकैपटक चार नयाँ एसयूभी ल्याउँदै



काठमाडौं । भारतीय अटोमोबाइल बजार अहिले तीव्र परिवर्तनको मोडमा पुगेको छ ।

इन्धन बचत, प्रविधि र वातावरणमैत्री विकल्पप्रति बजारको रुचि बढिरहेको समयमा होन्डाले आगामी वर्षहरूलाई लक्षित गर्दै ठूलो रणनीति सार्वजनिक गरेको छ ।

कम्पनीले सन् २०३० भित्र १० नयाँ मोडल ल्याउने योजना घोषणा गरेको हो । होन्डाले हाइब्रीड एसयूभीलाई आफ्नो प्रमुख हतियार बनाउने संकेत दिएको छ ।

होन्डाले ४ नयाँ हाइब्रीड एसयूभीलाई केही महिनाामै भारतीय बजारमा भित्र्याउने तयारी गरेको छ । कम्पनीका अनुसार होन्डा एलिभेट हाइब्रीड, होन्डा प्रिल्युड कपल, जेआर-भी हाइब्रीड र होन्डा सेभेनर सिटर अब छिट्टै लन्च गर्ने तयारी छ । यी मोडलहरू कम्पनीका आगामी प्रमुख उत्पादनका रूपमा अघि सारेको छ ।

होन्डाको नयाँ बिस्तार रणनीतिले भारतीय बजारमा हाइब्रीड सेग्मेन्टको प्रतिस्पर्धा झनै चर्किने दावी गरिएको छ । साउथ एशियामा होन्डाको प्रभाव बढाउन यी मोडलहरूले महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ ।

कुन गाडी कस्तो ?

कम्पनीको पहिलो ‘स्ट्रङ हाइब्रीड’ मोडलका रूपमा एलिभेट हाइब्रीड सन् २०२६ को दोस्रो सातासम्म बजारमा आउने अनुमान गरिएको छ । पावरट्रेन बारे आधिकारिक जानकारी नआए पनि यसमा १.५ लिटर पेट्रोल इन्जिन र दुई इलेक्ट्रिक मोटर समावेश हुने बुझिएको छ ।

यस्तै, स्पोर्टी डिजाइनसहितको हाइब्रीड प्रिल्यूड कपलमा १४१ बीएचपी २.०ी पेट्रोल इन्जिन, इलेक्ट्रिक मोटर र फ्रन्ट–व्हिल–ड्राइभ (एफडब्लु) सिस्टम रहनेछ । कुल आउटपुट २०० बीएचपी पुग्ने जानकारी सार्वजनिक भएको छ । भारतमा यसको अनुमानित मूल्य करिब ८० लाख भारतीय रुपैयाँ रहने बताइएको छ ।

यता, होन्डा जेआर–भी हाइब्रीडमा २.० लिटर पेट्रोल इन्जिन, लिथियम–आयन ब्याट्री र दुई मोटरको संयोजन रहेको छ । जसले १८० बीएचपी पावर र ३१५ एनएम टर्क प्रदान गर्नेछ । यसमा इभी, हाइब्रीड र इन्जिनगरी तीनवटा ड्राइभ मोड उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यसैगरि होन्डाले प्रिमियम सेग्मेन्ट लक्षित नयाँ ७–सिटर हाइब्रीड एसयूभीलाई २०२७ को अन्त्यतिर सार्वजनिक गर्ने तयारी गरेको छ । जापान र थाइल्यान्डस्थित आर एण्ड डी केन्द्रबाट डिजाइन हुँदै गरेको यो मोडल कम्पनीको नयाँ एँ२ प्लेटफर्ममा आधारित पहिलो एसयूभी हुनेछ ।


प्रतिक्रिया दिनुहोस्