सस्तो ब्याज र सहज कर्जा नीतिको प्रभाव : अटो बजारले लिन थाल्यो गति, निजी सवारीतर्फ झनै आकर्षण
काठमाडौं । असहज परिस्थितका बाबजुद पनि अटो बजार विस्तारै गतिशिल बन्दै छ । विगत लामो समयदेखि सुस्त रहेको अटो बजार विस्तारै चलायमान बन्दै गएका देखिन्छ ।
विशेषगरि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने हायर पर्चेज कर्जामा आएको बढोत्तरीले यस्तो देखाएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस्तो शीर्षकमा १ खर्ब २९ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा ३.६६ प्रतिशत बढी हो । गत आवको असोज मसान्तसम्ममा कुल १ खर्ब २४ अर्ब ९४ करोड ५१ लाख रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेका थिए ।
चालु आवको तीन महिनामा भने ८३ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । गत असार मसान्तसम्म भने यस्तो कर्जा १ खर्ब २८ अर्ब ६९ करोड ५७ लाख रुपैयाँ प्रवाह भएको थियो ।
सस्तो ब्याजदर र सहज कर्जा नीतिले सवारी खरिदमा उत्साह नै देखिएको छ । विशेषगरि निजी सवारी साधान खरिदमा बढ्दो आकर्षण देखिन्छ ।
राष्ट्र बैंकका अनुसार निजी प्रयोजनको सवारी खरिदमा जाने कर्जा ७.५० प्रतिशत वृद्धि भएको छ । गत आवको असोज मसान्तसम्म यस्तो शीर्षकमा बैंक तथा वित्तीय संस्थाहरुले ३९ अर्ब ८३ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, गत असोज मसान्तसम्म आइपुग्दा भने बढेर ४२ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चालु आवको तीन महिनामा भने भने निजी प्रयोजनका लागि २४ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यता, व्यवासायिक प्रयोजनमा प्रवाह हुने सवारी कर्जा भने दबाबमै छ । समिक्षा अवधिमा यस्तो कर्जा १.८७ प्रतिशत मात्रै वृद्धि भएको छ । चालु आवको असोज मसान्तसम्म आइपुग्दा यस्तो शीर्षकमा बैंक तथा वित्तीय संस्थाले ८६ अर्ब ६९ करोड ८० लाख रुपैयाँ प्रवाह भएको छ । जबकि, गत आवको सोही अवधिमा ८५ अर्ब १० करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालु आवको तीन महिनामा भने ५९ करोड १२ लाख रुपैयाँ प्रवाह गरेका छन् ।
एभरेष्टसहित एक दर्जन बैंकले बढाए सवारी कर्जा, एनआइसी एशियासहित सात वटाको घट्यो
समिक्षा अवधिमा बाणिज्य बैंकहरुले मात्रै १ खर्ब १४ अर्ब १ करोड ८४ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् । यो गत आवको तुलनामा ५.७४ प्रतिशत बढी हो । अधिकांश बैंकहरुले अटो कर्जा बढाएका छन् । समिक्षा अवधिमा एभरेष्टसहित १३ वटा बैंकको हायर पर्चेज कर्जा बढाएका छन् । तर, एनआइसी एशियासहित ७ वटाले भने घटाएको देखिन्छ ।
समिक्षा अवधिमा एभरेष्ट बैंकको सवारी कर्जा सर्वाधिक ८८.८७ प्रतिशत बढेको छ । दोस्रो स्थानमा रहेको नेपाल एसबिआईको ४५.६७ प्रतिशत बढेको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ४४.५८ प्रतिशत, कृषि विकासको ३४.३८ प्रतिशत, सानिमाको १३.१६ प्रतिशत, हिमालयनको १२.३८ प्रतिशत वृद्धि भएको छ ।
तर, एनआइसी एशिया बैंकको सर्वाधिक घटेको छ । समिक्षा अवधिमा बैंकको सवारी कर्जा ४०.८९ प्रतिशत घटेर १ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।
यस्तै, स्ट्याण्डर्ड चार्टर्डको ३९.७९ प्रतिशत, कुमारीको ३२.६७ प्रतिशत, नेपाल बैंकको १९.०७ प्रतिशत, लक्ष्मी सनराइजको १०.४६ प्रतिशत, माछापुच्छ्रेको ९.९८ प्रतिशत, प्रभूको २.७४ प्रतिशत घटेको छ ।
सवारी खरिदका लागि रकमका आधारमा भने सबैभन्दा ठुलो ऋण लगानी ग्लोबल आइएमईको छ । बैंकको यस्तो शीर्षकमा १५ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यता, नबिल बैंकको पनि ११ अर्ब ७० करोड ३६ लाख रुपैयाँ बराबरको सवारी कर्जा प्रवाह गरेको देखिन्छ । यी दुई बैंकको बैंकको सवारी कर्जा गत वर्षको तुलनामा क्रमश: ४.४५ र ४.८१ प्रतिशत बढी हो ।
कुन बैंकले कति दिए सवारी कर्जा ? (रकम दश लाखमा)














