हाइड्रोपावर क्षेत्रमा ‘सुपर ग्रोथ’ : दोब्बर बढ्यो नाफा, ९२ कम्पनीमध्ये कसले कति कमाए ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हाइड्रोपावर क्षेत्रमा ‘सुपर ग्रोथ’ : दोब्बर बढ्यो नाफा, ९२ कम्पनीमध्ये कसले कति कमाए ?



काठमाडौं । जलविद्युत कम्पनीहरुको वित्तीय स्वास्थ्यमा चामत्कारिक उछाल आएको छ । नाफा झन्डै शतप्रतिशत वृद्धि भएको देखिन्छ भने विद्युत बिक्री पनि बढाएका छन् ।

तीन महिनामै ५ अर्ब नाफा कमाएका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९२ कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्षको पहिलो त्रैमासमा ती कम्पनीहरुले २ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा ९२.९२ प्रतिशत बढेर ५ अर्ब ६ करोड ५२ लाख ११ हजार रुपैयाँ नाफा कमाएका छन् ।

विशेषगरि अपर तामाकोशीको नाफामा आएको उछालले नै समग्र जलविद्युत कम्पनीहरुको नाफाको आँकडा फेरिएको हो । अपर तामाकोशीले तीन महिनामा १ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा १६४.९९ प्रतिशत बढी हो ।

समिक्षा अवधिमा १३ वटा कम्पनी नोक्सानीमा छन् । ती बाहेकका सबै कम्पनीको नाफा धनात्मक छ । जबकि, गत आवको सोही अवधिमा १७ कम्पनी नोक्सानीमा थिए ।

कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानीमा बढोत्तरी आएसँगै खुद नाफा बढेको हो । समिक्षा अवधिमा ती कम्पनीहरुले १५ अर्ब ५७ करोड १५ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन् । यो गत वर्षको तुलनामा ४.२३ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीहरुले १५ अर्ब १३ करोड १८ लाख रुपैयाँ बराबरको विद्युत बिक्री आम्दानी गरेका थिए ।

नाफामा साहस उर्जा दोस्रो स्थानमा छ । कम्पनीले तीन महिनामै ४९ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको माउन्टेन इनर्जी ४२ करोड ३४ लाख र चौंथो सूचीमा रहेका ग्रीन भेन्चर्सले ३० करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै, राधी विद्युतले २७ करोड ८५ लाख, अपि पावरले २६ करोड २७ लाख, सानिमा मिडलले २१ करोड, चिलिमेले २० करोड ५८ लाख, सानिमा माइ १६ करोड ४७ लाख, साञ्जेन जलविद्युतले १५ करोड ३८ लाख, बलेफीले १२ करोड ४४ लाख, अपर सोलुले ११ करोड ६४ लाख, सिंगटीले ११ करोड २२ लाख, सुपर मादी ११ करोड १८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

चालु आवको पहिलो त्रैमासमा रसुवागढी हाइड्रोपावर ठुलो नोक्सानीमा छ । कम्पनीले ६५ करोड ३३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यता, मेन्छियाम हाइड्रोपावर ४६ करोड १० लाख, अपर लोहरे खोला २३ करोड २९ लाख रुपैयाँ घाटामा छन् । यी बाहेक भिजन लुम्बिनी, मोदी इनर्जी, त्रिशुली जलविद्युत, खानीखोला, घलेम्दी, लिवर्टी इनर्जी लगायतका आधा दर्जन घाटामा चलिरहेका छन् ।

कुन जलविद्युत कम्पनीले कति कमाए नाफा ?


प्रतिक्रिया दिनुहोस्