चीनलाई टक्कर दिन ताइवानले घाेषणा गर्‍यो ४० अर्ब डलर रक्षा बजेट, थप बढाउन अमेरिकाकाे दबाब - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चीनलाई टक्कर दिन ताइवानले घाेषणा गर्‍यो ४० अर्ब डलर रक्षा बजेट, थप बढाउन अमेरिकाकाे दबाब



कठमाडौं । ताइवानले चीनलाई टक्कर दिन ४० अर्ब डलरको रक्षा बजेट घोषणा गरेको छ ।

दुई देशबीचको विवाद चुलिँदै जाँदा ताइवानका राष्ट्रपति विलियम लाइ चिङ–टेले आगामी आठ वर्षमा रक्षा खर्चका लागि भनेर ४० अर्ब डलरको बजेट घोषणा गरेका हुन्।

उनले भने, ‘लोकतान्त्रिक ताइवानलाई स्थायी रूपमा सुरक्षित राख्न सक्ने रक्षा क्षमताको स्थापना गर्नु हो।’

लाइले अतिरिक्त खर्च अमेरिकाबाट नयाँ हतियार खरिद तथा असमान युद्ध लड्ने ताइवानको क्षमताको विकासमा लगाइने बताए। यो खर्च योजना अमेरिकासँगका चलिरहेको भन्सार–सम्बन्धी वार्तासँग जोडिएको नभएको स्पष्ट पनि पारे ।

सेनाले २०२७ सम्म चीनविरुद्ध उच्च स्तरको संयुक्त युद्ध तयारी हासिल गर्ने लक्ष्य राखेको ताइवानका प्रधानमन्त्रीले बताए। जुन वर्षलाई अमेरिकी अधिकारीहरूले पहिलेदेखि नै ताइवानमाथि चिनियाँ सैन्य कारबाहीको सम्भावित समयरेखा भनेर उल्लेख गरेका छन्।

राष्ट्रपति लाइको घोषणा जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमाथि कुनै आक्रमण भए जापानले सैन्य हस्तक्षेप गर्न सक्ने संकेत दिएका टिप्पणीपछि टोकियो र बेइजिङबीच हप्तौँदेखि चलेका कूटनीतिक तकरारकै बीच आएको हो।

चीनले ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्दै आएको छ र नियन्त्रण पुनः प्राप्त गर्न बल पनि प्रयोग गर्न सक्ने धम्की दिँदै आएको छ।

गत दशकदेखि ताइवानले रक्षा खर्च बढाउँदै आएको छ, तर संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले स्वशासित यस द्वीपलाई चीनले आफ्नो नियन्त्रण पुनः प्राप्त गर्ने सम्भावित प्रयासलाई रोक्न थप रक्षा खर्च बढाउन दबाब दिइरहेका छन्।

ट्रम्पले ताइवानलाई रक्षा खर्च जीडीपीको १० प्रतिशतसम्म बढाउन माग गर्दै आएका छन्, जुन अनुपात अमेरिका वा उसका प्रमुख सहयोगीहरूले समेत खर्च गर्नेभन्दा धेरै उच्च हो।

ताइवान सरकारले आगामी वर्षका लागि ९४९.५ अर्ब नयाँ ताइवान डलर (३० अर्ब डलर), अर्थात् जीडीपीको ३.३२ प्रतिशत, रक्षा खर्चको प्रस्ताव गरेको छ।


प्रतिक्रिया दिनुहोस्