नेपालबाट थप २० मेगावाट बिजुली लैजाँदै बंगलादेश, विद्युत् व्यापारमा ६ बुँदे सहमति
काठमाडौं । बंगलादेशले नेपालबाट अतिरिक्त २० मेगावाट विद्युत् लिन सहमति जनाएको छ । हाल बंगलादेशले ४० मेगावाट विद्युत् उपयोग गर्दै आएको छ । अब ६० मेगावाट पुर्याउन तयारी गरेको हो ।
नेपाल र बंगलादेशबीच भएको सचिवस्तरीय सातौँ ऊर्जा बैठकपछि यस्तो सहमति जुटेको हो । ढाकामा सम्पन्न संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव चिरञ्जीवी चटौत तथा बंगलादेशकी ऊर्जा सचिव फर्जाना ममताज सहअध्यक्ष रहेका थिए ।
कार्यदलको सिफारिसका आधारमा बैठकले विद्युत् व्यापार र ऊर्जा सहकार्य सम्बन्धी ६ बुँदे सहमति जुटाएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बंगलादेशले सुनकोशी–३ जलविद्युत् आयोजना प्रति चासो देखाउँदै अध्ययनका लागि विशेषज्ञ टोली बनाउने र लगानी प्रक्रियालाई छिटो अघि बढाउने सहमति भएको छ ।
नेपालबाट भारतको ग्रिडमार्फत बंगलादेशका विभिन्न स्थान—बरापुकारया, पञ्चगढ/ठाकुरगाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यातको सम्भाव्यता पनि दुबै पक्षले संयुक्त रूपमा अध्ययन गर्ने भएका छन् ।
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामा सहकार्य बढाउन तयार गरिएका समझदारीपत्रमा दुवै देशले चाँडै हस्ताक्षर गर्ने तयारी गरेका छन् । यसअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रूफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
क्षमता अभिवृद्धि कार्यक्रमका रूपमा दुबै देशका प्राविधिकहरूलाई क्रमिक रूपमा काठमाडौं र बंगलादेशमा प्रशिक्षण दिने योजना पनि बैठकले टुंग्याएको छ ।
साथै, नेपाल–भारत–बंगलादेशबीच त्रिदेशीय ऊर्जा सहकार्यका लागि तयार समझदारीपत्र (मोयू) मा भारतको सहमति जुटाउन संयुक्त पहल गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
बैठकमा दुवै देशका प्रतिनिधिहरुले विद्युत आदान–प्रदान, प्रसारण पूर्वाधार विकास, दीर्घकालिन उर्जा सहकार्यलाइृ अझ गहिरो बनाउन प्रतिवद्धता जनाएका छन् ।













