ट्रम्पकाे ट्यारीफलाई चुनौती दिदैँ भारतको अर्थतन्त्रमा उत्साहजनक वृद्धि, जीडीपी वृद्धिदर ८.२ प्रतिशत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ट्रम्पकाे ट्यारीफलाई चुनौती दिदैँ भारतको अर्थतन्त्रमा उत्साहजनक वृद्धि, जीडीपी वृद्धिदर ८.२ प्रतिशत



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भारतले अपेक्षाभन्दा उच्च आर्थिक वृद्धिदर हासिल गरेको छ।

शुक्रबार सार्वजनिक भएकाे सरकारी तथ्यांक अनुसार उद्योग, निर्माण तथा सेवा क्षेत्रको बलियो विस्तारसँगै आन्तरिक उपभोक्ता खर्चमा देखिएको सुधारले भारतको समग्र अर्थतन्त्रलाई थप गतिशील बनाएको छ।

यसले विश्वको चौथो ठूलो अर्थतन्त्रमा देखा परेको बाह्य दबाब तथा अमेरिकी भन्सार नीतिको प्रभावलाई शिथिल तुल्याएको विश्लेषकहरूको टिप्पणी छ।

जुलाई–सेप्टेम्बरमा भारतको वास्तविक जीडीपी वार्षिक आधारमा ८.२ प्रतिशतले बढेको छ। उपभोक्ता मागमा आएको पुनःजागरण, उद्योग–निर्माण गतिविधिमा आएको तीव्रता र सेवा क्षेत्रको व्यापक विस्तारले समग्र वृद्धिदरलाई माथि उठाएको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् अप्रिल–जुनमा भारतले ७.८ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो भने गत वर्ष यसै अवधिमा यो दर ५.४ प्रतिशत मात्र रहेको थियो।

विश्व व्यापारमा अमेरिकी ट्यारीफ, प्रविधि युद्ध तथा भू–राजनीतिक तनावका कारण अनिश्चितता बढिरहेका बेला भारतको ठूलो आन्तरिक बजार र घरेलु उपभोगशक्तिले अर्थतन्त्रलाई स्थिरता प्रदान गरेको तथ्यांकले देखाउँछ। जीडीपीको करिब ५७ प्रतिशत हिस्सा ओगट्ने निजी उपभोक्ता खर्च यस त्रैमासमा ७.९ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो त्रैमासको ७ प्रतिशत वृद्धि भन्दा उच्च हो।

यसै अवधिमा उद्योग तथा निर्माण क्षेत्रमा ८.१ प्रतिशत वृद्धि दर देखिएको छ भने सेवा क्षेत्रमा ९.२ प्रतिशतको उल्लेखनीय विस्तार भएको छ। वित्तीय, रियल एस्टेट तथा व्यवसायिक सेवाले १०.२ प्रतिशतको उच्च वृद्धि हासिल गरेका छन्। कृषि तथा सम्बन्धित गतिविधिमा भने वृद्धि ३.५ प्रतिशतमा सीमित रह्यो। विद्युत, ग्यास, पानी आपूर्ति तथा अन्य उपयोगिता सेवा क्षेत्रमा ४.४ प्रतिशत वृद्धि देखिएको छ।

अमेरिकाले भारतीय निर्यातमाथि थप २५ प्रतिशत दण्डात्मक कर लगाएर कुल शुल्क ५० प्रतिशत पुर्‍याएपछि उत्पन्न सम्भावित दाबलाई न्यून पार्न भारत सरकारले उपभोग्य वस्तुमा कर छुट लागू गरेको थियो। सेप्टेम्बर अन्त्यदेखि लागू भएको यो राहत उपायले आगामी त्रैमासहरूमा पनि उपभोग र उद्योग दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

चालु आव २०२५/२६ को दोस्रो त्रैमासमा भारतको जीडीपी (वर्तमान मूल्यमा) को आकार ८ नील ५२ खर्ब ५० अर्ब (८५.२५ लाख करोड) रुपैयाँ पुगेको छ, जुन गत वर्षको दोस्रो त्रैमासको ७ नील ८४ खर्ब (७८.४० लाख करोड) रुपैयाँको तुलनामा ८.७ प्रतिशतको वृद्धि हो।

यस्तै, चालु आव २०२५/२६ को पहिलो छ महिनामा जीडीपी १७१.३० लाख करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको पहिलो छ महिनाको १५७.४८ लाख करोड रुपैयाँसँग तुलना गर्दा ८.८ प्रतिशतले बढी हो।

भारतको दोस्रो त्रैमासको वृद्धि दरले आगामी महिनाहरूमा पनि अर्थतन्त्रले बलियो गति कायम राख्ने संकेत दिएको छ। उद्योग, सेवा र निजी उपभोगमा देखिएको निरन्तर सुधारले भारतको आर्थिक स्थिरता तथा दीर्घकालीन विस्तार दुवैका लागि सकारात्मक माहोल निर्माण गरेको आर्थिक विश्लेषकहरूको निष्कर्ष छ।


प्रतिक्रिया दिनुहोस्