७ दशकयताको सबैभन्दा ठूलो आगलागीले हङकङको बीमा उद्योगलाई चुनौती, ४८ अर्ब दाबीको अनुमान
काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा भएको आगलागीबाट भएको क्षतिमा बीमा कम्पनीहरुमा ३३४ मिलियन अमेरिकी डलर (२.६ अर्ब हङकङ डलर अर्थात् करिब ४७ अर्ब ७५ करोड नेपाली रुपैयाँ) भन्दा बढीको दाबी आउन सक्ने प्रारम्भीक अनुमान गरीएको छ ।
हाउजिङ कम्प्लेक्समा भएको आगलागीबाट हालसम्म १२८ जनाको मृत्यु भइसकेको छ भने १५० जना अझै बेपत्ताको सूचीमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो आगलागी सात दशकयताको सबैभन्दा ठूलो क्षति हो। यसबाट करिब ७ वटा भवनमा व्यापक क्षति पुगेको छ भने हजारौं मानिस घरबिहिन बनेका छन् । यसले आगामी वर्ष व्यक्तिगत तथा सम्पत्ति बीमाका दाबीहरु अभूतपूर्व रुपमा बढ्ने अनुमान गरिएको छ।
बीमा दाबी प्रक्रियालाई छिटो, सरल र प्रभावकारी बनाउन हङकङ इन्स्योरेन्स अथोरिटीले वरिष्ठ अधिकारीहरूको नेतृत्वमा विशेष टास्कफोर्स गठन गरेको छ भने प्रभावितहरूलाई तत्काल सेवा दिन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
बीमा उद्योग महासंघले मृत्यु दाबीका लागि अनिवार्य डेथ सर्टिफिकेट आवश्यकता हटाउने, प्रिमियम भुक्तानीमा छुट तथा समयावधि थप्नेजस्ता सहुलियत प्रदान गर्ने निर्णय गरेको छ।
यसैबीच हङकङ मौद्रिक प्राधिकरण र हङकङ एसोसिएसन अफ बैंकहरूले पनि प्रभावितहरूलाई सहयोगका उपाय अघि सारेका छन्। जसमा ऋण आवेदनलाई प्राथमिकता दिनु, ढिला भुक्तानी शुल्क माफ गर्नु, र ताई पोका शाखामा थप कर्मचारी परिचालन गर्नु जस्ता व्यवस्था समावेश छन्।
प्राधिकरणले पीडितले पहिचानपत्र, पासबुक वा एटीएम कार्ड बिना पनि बैंक सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ भने यसको बीमा इकाइ एचएसबीसी लाइफले दाबीहरू फास्ट–ट्र्याक गर्ने बताएको छ। बैंक अफ इस्ट एशियाले आफ्नो ताई पो शाखा तीन दिन विशेष रूपमा साँझसम्म खुला राख्ने जनाएको छ।
उद्योग विश्लेषकहरूका अनुसार आगलागीले हङकङको सामान्य बीमा उद्योगको अन्डरराइटिङ नतिजामा दीर्घकालीन असर पार्नेछ। किनभने २०२३ मा मात्रै सम्पत्ति बीमाका १.९३ अर्ब अमेरिकी डलर बराबरका प्रिमियम संकलन भएको पृष्ठभूमिमा यसपटक दाबी रकम असाधारण रूपमा वृद्धि हुने देखिएको हो।













