यी हुन् लगानीकर्ताको सबैभन्दा धेरै रोजाइमा परेका कम्पनी
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगानीकर्ताले कुन कम्पनीको सेयर किन्न ज्यादा रुचाउँछन् होला भन्ने प्रश्न धेरैको मनमा परेको हुनसक्छ । यसलाई छुट्याउने आधारहरु विभिन्न छन् । कुन कम्पनीको सेयर धेरै कित्ता किनबेच भयो भन्ने आँकडाले पनि यो प्रश्नको जवाफ दिन्छ ।
तर आज हामीले लगानीकर्ताहरु सबैभन्दा धेरै पैसा खन्याउन कुन कम्पनी रोजिरहेका छन् भनेर हेर्दै छौँ । एउटा कम्पनीको सेयरको भाउ महँगो छ भने र त्यसको थोरैमात्र सेयर किनियो भने पनि ज्यादा पैसा तिर्नुपर्ने हुन्छ ।
तर सस्तो सेयर धेरै संख्यामा किन्दा पनि पैसा कमैमात्र लाग्छ । त्यसैले लगानीकर्ताका लागि सेयरको संख्याभन्दा पैसा (रकम) ज्यादा महत्वपूर्ण हुन्छ भन्ने आधारमा यस्तो विश्लेषण गरिएको हो ।
गएको कात्तिक महिनामा नेप्सेको प्लेटफर्मबाट भएको कारोबारको आँकडा केलाउँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभेलपमेण्ट लिमिटेडको सेयर सबैभन्दा ज्यादा रुचाइएको स्टकका रुपमा देखियो । यो कम्पनी सेयरको कित्ता वा कारोबारको गणना (पटक)को हिसाबमा शीर्ष सूचीमा पर्दैन । तर कारोबार रकमको मात्रै तथ्यांक हेर्ने हो भने यो सेयर ३ अर्ब ६१ करोड ५७ लाख ५२ हजार रुपैयाँभन्दा ज्यादाको कारोबार भयो ।
त्यसपछि ३ अर्ब ३७ करोड ८४ लाखको कारोबार सहित युनियन हाइड्रोपावर दोस्रो स्थानमा रह्यो भने ३ अर्ब ३७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको राढी विद्युत् कम्पनी यो सूचीको तेस्रोे नम्बरमा पर्यो । पाकिस्तानी हबीब बैंकले यहाँको नेशनल लाइफ इन्स्योरेन्सलाई हिमालयन बैंकको संस्थापक सेयर बेचेपछि यो कारोबार शीर्ष ४ मा परेको छ । कात्तिकमा हिमालयन बैंकको संस्थापक सेयरमात्रै ३ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यसपछि नेपाल रिइन्स्योरेन्सको २ अर्ब ६८ करोड, शिवम् सिमेन्टको २ अर्ब ४५ करोड, हिमालयन डिस्ट्रिलरीको २ अर्ब ११ करोड, बुटवल पावर कम्पनीको १ अर्ब ८८ करोड र हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसरी गत कात्तिक महिनाभर नेप्सेमा कुल ५ खर्ब २७ अर्ब १४ करोड ५८ लाख रुपैयाँ हाराहारीको सेयर किनबेच भएकोमा त्यसको ५ प्रतिशतभन्दा ज्यादा त केवल शीर्ष १० कम्पनीको कारोबार भएको देखिएको छ । भलै, अघिल्लो सालको कात्तिकको तुलनामा यो साल कुल कारोबार रकम ३९ प्रतिशतभन्दा फराकिलो अन्तरले घटेको नेप्सेले जनाएको छ ।
पोहोर कात्तिक महिनामा नेप्सेमा ८ खर्ब ६८ अर्ब ९२ करोड २३ लाख ७० हजार हाराहारीको सेयर कारोबार भएको थियो । परार साल भने कात्तिकमा जम्मा १ खर्ब २३ अर्ब २७ करोड हाराहारीको मात्रै सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।













