राष्ट्र बैंकले घटायो स्थायी तरलता सुविधा दर र नीतिगत दर, स्थायी निक्षेप सुविधा दर यथावत
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दर घटाएको छ ।
नेपाल राष्ट्र बैंकले आज सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरेको हो ।
ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले स्थायी तरलता सुविधा दर र नीतिगत दर घटाएको जनाएको छ ।
यस्तै ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् कायम राखिएको छ ।













