सेबोन पूर्वअध्यक्ष हमालको दुसित थानी रिसोर्टको व्यापार ५३% बढ्यो, एकै वर्ष साढे १८ करोडको कारोबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सेबोन पूर्वअध्यक्ष हमालको दुसित थानी रिसोर्टको व्यापार ५३% बढ्यो, एकै वर्ष साढे १८ करोडको कारोबार



काठमाडौं । धुलिखेलका पहाडी दृश्य र शान्त वातावरणले पर्यटक तानिरहेको बेला सोही ठाउँमा संचालित पाँचतारे दुसित थानी हिमालयन रिसोर्टको कारोबार पनि उस्तै उक्लिएको छ । एक वर्षमै कम्पनीको व्यापार उच्च दोहोरो अंकमा वृद्धि भएको छ ।

सञ्चालनको पहिलो वर्षमै रिसोर्टले उल्लेख्य कारोबार गरेको देखिन्छ । रिसोर्टले सन् २०२५ मा १८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा भने ५३.१७ प्रतिशत धेरै हो । कम्पनीले गत वर्ष १२ करोड १० लाख रुपैयाँ कारोबार गरेको थियो ।

कम्पनीले धुलिखेलमा सन् २०१४ मा ओमस्टोन होटल नाममा दर्ता भएर अहिले अन्तर्राष्ट्रिय ब्रान्ड दुसित थानीसँग व्यवस्थापन साझेदारी गर्दै सेवा विस्तार गरिरहेको छ ।

रिसोर्टले सन् २०२३ जुलाईमा २८ कोठासहित औपचारिक सेवा सुरु गरेको थियो। त्यसपछि २०२४ अप्रिलमा १८ भिल्ला सञ्चालनमा ल्याएको थियो । तर, २०२५ मार्चदेखि ५४ कोठा र १८ भिल्लासहित पूर्ण क्षमतामा रिसोर्ट चलिरहेको छ । लक्जरी कोठाको निर्माणमा मात्रै ४ करोड ३० लाख रुपैयाँ लगानी गरिएको कम्पनीले जनाएको छ ।

सुरुमा प्रतिकोठा निर्माण लागत २ करोड ६० लाख अनुमान गरिएको भए पनि विस्तारसँगै कुल लागतमा परिमार्जन गरिएको कम्पनीको भनाइ छ । अहिले रिसोर्टका कोठाको प्रतिदिन मूल्य १९ हजार रुपैयाँ तोकिएको छ ।

आफ्नो संरचना, सेवा र व्यवसायिक विस्तारलाई थप सुदृढ बनाउन कम्पनीले आइपीओ ल्याउने तयारी समेत थालेको छ ।

कम्पनीमा बिष्णु मोर, राधिका भेगिटेबल्स आयाल, राजेन्द्रकुमार काब्रा, आशिषकुमार गोयल र रमेश हमालको स्वामित्व रहेको छ । यी मध्ये हमाल नेपाल धितोपत्र बोर्ड (सेबोन) का पूर्वअध्यक्ष समेत हुन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५६ करोड ५० लाख रुपैयाँको क्रेडिट रेटिङ गराइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्