चिरञ्जिबी अधिकारीद्वारा तयार पारिएकाे ‘नेपाल-भारत डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक
काठमाडाैं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) ले नेपाल–भारत डिजिटल कोरिडोरको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
दक्षिण एशियाको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने, क्षेत्रीय नवप्रवर्तनलाई प्रोत्साहन दिने र नेपाल–भारतलाई साझा डिजिटल केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ तयार गरिएको यो फ्रेमवर्क क्यान फेडेरेसनका वरिष्ठ उपाध्यक्ष तथा सूचना–प्रविधि नीति विशेषज्ञ चिरञ्जिबी अधिकारीद्वारा नेतृत्वमा तयार गरिएको हो।
नेपाली डिजिटल नीतिका प्रमुख स्वरका रूपमा चिनिएका अधिकारीले करिब तीन दशकदेखि सूचना–प्रविधि कानून, डिजिटल सरकार, कृत्रिम बुद्धिमत्ता नीति, ई–शासन, तथा आइसीटी उद्योग विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उनले सार्वजनिक गरेको ‘नेपाल–भारत डिजिटल कोरिडोर’लाई नेपालको आईटी दशक २०२४–२०३४ रणनीति र भारतको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर अभियानसँग जोडिने साझा दृष्टिकोणको रूपमा हेरिएको छ।
यस डिजिटल कोरिडोरका प्रमुख आधारस्तम्भहरूमा सीमापार फिनटेक एकीकरण, स्टार्टअप तथा नवप्रवर्तन सहकार्य, सीप तथा प्रमाणपत्र विनिमय, साइबर सुरक्षा साझेदारी, कृत्रिम बुद्धिमत्ता अनुसन्धान, डिजिटल पूर्वाधार विस्तार, तथा नीतिगत समायोजन समावेश छन्।
विशेष गरी यूपीआई–फोनपे अन्तरसंयोजन विस्तार, साझा इनक्युबेसन तथा भेन्चर क्यापिटल पहुँच, npCert–CERT-In साइबर सहकार्य, नेपाली भाषाका एआई मोडेल विकास, र क्रस–बोर्डर फाइबर तथा क्लाउड संरचना विस्तारलाई प्राथमिकतामा राखिएको छ।
डिजिटल कोरिडोरले दुवै देशबीच सीप आदान–प्रदानलाई सहज बनाउने, रोजगारीका नयाँ अवसर थप्ने तथा आईटी सेवा व्यापारलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। यसले भविष्यमा आईटी क्षेत्रमा १५ लाख रोजगारी सिर्जना र ३ अर्ब डलर बराबरको आईटी सेवा निर्यात लक्ष्य हासिल गर्न सहयोग गर्ने क्यान फेडेरेसनको दाबी छ।
फ्रेमवर्क सार्वजनिक कार्यक्रममा बोल्दै चिरञ्जिबी अधिकारीले यो कोरिडोरलाई ‘साझा आर्थिक दृष्टिकोण’ भएको उल्लेख गर्दै, नेपाल र भारत मिलेर दक्षिण एशियाली डिजिटल भविष्य निर्माण गर्न सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार, यस्तो सहकार्यले नेपाललाई विश्वस्तरको सफ्टवेयर तथा आउटसोर्सिङ केन्द्र बनाउने आधार तय गर्नेछ।
सन् १९९२ मा स्थापित क्यान फेडेरेसन नेपालका सातै प्रदेश र अधिकांश जिल्लामा फैलिएको, पेशेवर, विद्यार्थी, स्टार्टअप तथा आईटी उद्योगहरूलाई समेट्ने सबैभन्दा ठूलो सूचना–प्रविधि छाता संस्था हो। यसले पहिलो आईटी नीति निर्माणदेखि एआई नीति प्रारूप, डिजिटल नेपाल फ्रेमवर्क, नेशनल आईसीटी डे जस्ता महत्वपूर्ण राष्ट्रिय परियोजनामा नेतृत्व गर्दै आएको छ।













