स्थानीय धागो, स्थानीय श्रम: ‘प्रगति टेक्सटायल’को व्यापारिक रफ्तार
काठमाडौं । पछिल्ला वर्षमा कपडा उद्योगले अपेक्षित गति समाउन सकिरहेको छैन । तर, नेपालको कपडा उद्योगमा सक्रिय प्रगति टेक्सटायल इन्डस्ट्रीजको व्यापार भने उल्लेख्य सुधार आएको छ ।
बजारमा प्रतिस्पर्धा तीव्र भइरहँदा पनि कम्पनीले कारोबार बढाउँदै आफ्नो उपस्थितिलाई अझै दृढ बनाएको देखिन्छ ।
कम्पनीबाट प्राप्त पछिल्लो वर्षको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीले सन् २०२५ मा ७० करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा भने २४.६९ प्रतिशत धेरै हो । गत वर्ष पनि कम्पनीले ५६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीले एक वर्षको अवधिमा नै आफ्नो व्यापार दोहोरो अंकमा बढाउन सफल देखिन्छ।
यसअघि सन् २०२३ मा ६६ करोड ५० लाख र सन् २०२२ मा ७५ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् १९९१ मा स्थापना भएको कम्पनीले निटिङ, शर्टिङ र सुटिङ सामग्री उत्पादनलाई आफ्नो मुख्य व्यवसाय बनाएको छ ।
उत्पादनका लागि आवश्यक पर्ने धागोमध्ये ८० प्रतिशत नेपाली उत्पादककै योगदान रहने जनाएको छ । कास्टिक सोडा, सोडा र सल्ट स्थानीय आपूर्तिकर्ताबाट खरिद गरिने भए पनि विशेष केमिकलका लागि कम्पनी भारतीय बजारमा निर्भर छ ।
कम्पनी विभिन्न व्यक्तिहरुको स्वामित्वमा संचालन भइरहेको छ । कम्पनीमा जितेन्द्र कुमार लोहियाको ४०.३२ प्रतिशत, ललित कुमार लोहियाको ३०.६५ प्रतिशत, दीपक कुमार लोहियाको १९.३५ प्रतिशत तथा मद्हु लोहियाको ९.६८ प्रतिशत सेयर स्वामित्व छ । हाल ललित कुमार लोहिया प्रगति समूहका अध्यक्ष रहेका छन् ।
कम्पनीले कर्जा व्यवस्थापनका लागि ७५ करोड ६६ लाख रुपैयाँ बढीका लागि रेटिङ गराएको छ । जसमध्ये दीर्घकालीन तर्फ ३९ करोड ९७ लाख र अल्पकालीन कर्जा ९ करोड ९७ लाख रुपैयाँ रहेको छ ।













