‘सेफ ल्याण्डिङ’को बाटोमा दुर्गा प्रसाईं, आज प्रधानमन्त्रीसँग भेट्दै
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आज सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्दै छन् ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो तीन बजे भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि प्रसाईंले पटक पटक आन्दोलनको धम्की दिए पनि उनले आह्वान गरेको आन्दोलनमा नागरिक सहभागिता खासै नहुने देखिएपछि आफैँले पटक पटक मिथि सार्दै आएका थिए । त्यसो त, सरकारले उनलाई केही दिन थुनामा पनि राखेको थियो ।
उनले सिधै प्रधानमन्त्रीसँगमात्रै वार्तामा बस्ने भनेर भाषण गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई पत्राचार गरेर मंसिर २२ गते वार्तामा आउन भनेका थिए ।
त्योभन्दा पहिला प्रसाईंले मंसिर १२ मा सिंहदरबारमै गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । त्यो भेटमा उनले मूलत: तीन वटा विषयमा जनमत संग्रह गर्न माग गरेको बताएका थिए ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा जनमत संग्रह गर्नुपर्ने लगायत २७ बुँदे माग गृहमन्त्रीलाई बुझाएपछि उनले प्रधानमन्त्रीलाई भेटेर आफ्ना भनाइ राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
उनको यही आग्रह बमोजिम आज दिउँसो प्रधानमन्त्रीसँग भेट्ने समय मिलाइएको हो ।













