संघीय सरकारलाई पाख्रिबासको लल्कार, ‘दिनदिनै नयाँ कर्मचारी पठाउँदा पनि फरक पर्दैन’
संघीय सरकारलाई पाख्रिबासको लल्कार, ‘दिनदिनै नयाँ कर्मचारी पठाउँदा पनि फरक पर्दैन’
काठमाडौँ । धनकुटाको पाख्रिबास नगरपालिकाले प्रशासकीय प्रमुखहरुको तारन्तार सरुवालाई लिएर संघीय सरकारमाथि लल्कारेको छ ।
स्थानीय सरकारका कामकाजलाई ‘अस्थिर’ बनाउने गरी कर्मचारी सरुवा गरेपछि नगरपालिकाले कडा जवाफ पठाएको हो ।
करीब ६ महिना अघिमात्रै सरुवा भएर आएका पाख्रिबासका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालालाई फेरि सरुवा गरिदिएपछि त्यहाँका नगरप्रमुख ज्ञानबहादुर गुरुङ्गले संघीय सरकारको यस्तो चरित्रमाथि प्रहार गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १७ मंसिरमा त्यहाँका प्रशासकीय प्रमुख सरुवा भएको भनेर काटेको पत्र आइतबार नगरपालिकामा दर्ता भएपछि सोमबारै प्रमुख गुरुङ्गले जवाफ पठाएका हुन् ।
नगरपालिकाको दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा स्थानीय जनजीवनमा खासै फरक नपर्ने बताएका छन् । ‘यस क्षेत्रमा धान फल्न, दाहीँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैँसी ब्याउन, दूध उत्पादन गर्न, सिँचाई गर्न, फलफूल लगाउन, फल्न, फूल्न र सोको निकासा गरी विक्री वितरण गर्न कुनै समस्या नरहेको’ मेयर गुरुङले पत्रमा लेखेका छन् ।
सोही पत्रमा उनले लेखेका छन्— ‘तहाँ (संघीय मामिला) मन्त्रालयबाट प्रत्येक महिना/महिनामा वा सम्भव भएसम्म दिनदिनै छुट्टाछुट्टै एक/एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
संघीय सरकारले तुलनात्मक रुपमा स्थायित्व प्राप्त भएको तल्लो सरकारलाई कर्मचारीको सरुवा गरेरै अस्थिर पार्न खोजेको आरोपका बीच उक्त नगरपालिले यस्तो पत्राचार गरेको हो ।
प्रमुख गुरुङ्गले व्याङ्गात्मक रुपमा संघीय सरकारको गलत नीतिको आलोचना गरेका छन् । ठाडै ‘तिमीहरुले कर्मचारी फेरेर नगरपालिकालाई अस्थिर बनाउन खोजे पनि जनताको जिविकालाई फरक पर्दैन’ भनेर उनले संघीय सरकारलाई सीधा चुनौती दिएका छन् ।














