झन्डै डेढ अर्ब घट्यो भगवती स्टिलको व्यापार, उत्पादन क्षमता उपयोग १४ प्रतिशतमा झर्यो
काठमाडौं । भगवती स्टिल इन्डष्ट्रिजको व्यापारमा कमी देखिएको छ । एक वर्षमा कम्पनीले डेढ अर्ब बढीको कारोबार गरेको छ ।
कम्पनीले उपलब्ध गराएको विवरण अनुसार सन् २०२५ मा १ अर्ब ६६ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, यो गत वर्ष सन् २०२४ को तुलनामा भने ४६.७७ प्रतिशत कमी हो । गत वर्ष कम्पनीले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीको उत्पादन सामग्रीको बिक्रीमा कमी र उत्पादन क्षमतामा गिरावटले नै व्यापार प्रभावित भएको हो । हाल कम्पनीको उत्पादन क्षमताको उपयोग पनि न्यूनतम १४ प्रतिशतमा सिमित भएको छ । जबकि, गत वर्ष ३३ प्रतिशत रहेको थियो ।
पाइप, सिट, झ्यालढोकाको फ्रेम, शटर प्रोफाइल, साइड च्यानल, ट्रस, पोल र टावरका उत्पादनहरूले बजार माग नभएपछि व्यापारमा गिरावट आएको कम्पनीले जनाएको छ । त्यसमध्ये विशेष रूपमा टेलिस्कोपिक/टबलर पोलको कारोबारमा कमी आएको छ । सन् २०२४ मा यसको हिस्सा ७० प्रतिशत रहेको भए पनि २०२५ मा यो घटेर ४० प्रतिशत पुगेको छ ।
सन् १९९१ मा स्थापना भएको भगवती स्टिल इन्डष्ट्रिजले वार्षिक ५९ हजार मेट्रिक टन क्षमतामा स्टील उत्पादन गर्दै आएको छ । कम्पनीका अध्यक्ष सुमितकुमार अग्रवाल छन् । कम्पनीका अनुसार उत्पादन र बिक्रीमा आएको गिरावट सुधार गर्ने प्रयास जारी छ । भविष्यमा कम्पनीको प्रदर्शनमा सुधार आउने कम्पनीले जनाएको छ ।
कम्पनीले २ अर्ब ३२ करोड २२ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । जसमध्ये दीर्घकालिन तर्फ ९ करोड ७२ लाख र दीर्घकालिन तर्फ २ अर्ब २२ करोड ५० लाख रुपैयाँ रहेको छ ।













