डेल र एसरका ल्याप्टप बेच्ने म्याक्स इन्टरनेशनलको व्यापार वर्षेनि घट्दै, कति गर्छ कारोबार ?
काठमाडौं । डेल र एसर लगायतका प्रमखु ब्रान्डका ल्याप्टप र अन्य आइटीका सामान बेच्ने म्याक्स इन्टरनेशनल (एमआई) को व्यापार वर्षेनि घट्दो देखिएको छ । एकै वर्ष कम्पनीको व्यापारमा ३० करोड गिरावट आएको छ ।
एक रेटिङ एजेन्सी कम्पनीले हालै उपलब्ध गराएको प्रतिवेदनले यस्तो देखाएको हो । कम्पनीले सन् २०२५ मा १ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । तर, यो गत वर्ष २०२४ को तुलनामा भने १४.६५ प्रतिशत कमी हो । गत वर्ष कम्पनी २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
वार्षिक कारोबारको आँकडा अनुसार कम्पनीको व्यापार हेरक वर्ष घट्दै गएको देखिन्छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ बराबरको ल्याप्टप र आइटी सामान बेचेको थियो ।
विभिन्न आईटी क्षेत्रका सामग्रीको व्यापारमा संलग्न रहेको छ र डेल ल्याप्टप र सर्भरहरूको आधिकारिक वितरकको रूपमा काम गर्दै आएको छ । कम्पनीले नेपालभरि डेलका उत्पादनहरूको बिक्री र सेवा प्रदान गर्ने अधिकार प्राप्त गरेको छ ।
कम्पनीका प्रमुख उत्पादक ब्रान्डहरू डेल टेक्नोलोजी, माइक्रोसफ्ट, ओराकल र सिस्को हो । यो वर्ष म्याक्स इन्टरनेशनलले २.१६ प्रतिशतको खुद नाफा कमाएको छ । यो नाफा सन् २०२४ मा ०.८१ प्रतिशत थियो ।
म्याक्स इन्टरनेशनलले १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ । यसमा दीर्घकालीन कर्जा २ करोड ८६ लाख रुपैयाँ र अल्पकालीन कर्जा १ अर्ब ७० करोड १३ लाख रुपैयाँ रहेको छ ।
सन् २००६ मा स्थापित म्याक्स इन्टरनेशनलले डेल ल्याप्टपको आधिकारिक वितरकको रूपमा परिचित भएको छ । तर, पछिल्ला वर्षहरूमा कम्पनीको व्यापार घट्दो क्रममा रहेको छ । कम्पनीको व्यवस्थापनले गिरावटको कारण र सुधारका उपायहरू पहिचान गर्न थालेको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीका स्वामित्व शहिना हुसेनको नेतृत्वमा म्याक्स इन्टरनेशनलले आईटी क्षेत्रका विभिन्न महत्वपूर्ण ब्रान्डहरूको वितरण सम्झौता समेत गरेको छ । जसका माध्यमबाट कम्पनीले नेपालमा अत्याधुनिक प्रविधिको उपलब्धता सुनिश्चित गर्दै आएको छ ।
करिब दुई दशकीय संचालन अनुभव रहेको एमआईले २५ भन्दा बढी ओइएम ब्रान्डहरुसँग साझेदारी गरेको छ । कम्पनीले आफ्नो व्यापारलाई पुन: सुदृढ बनाउने र भविष्यमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ । विभिन्न सुधारात्मक कदमहरू योजना बनाइरहेको प्रतिवेदनमा उल्लेख छ ।













