नेपाली बीमा कम्पनीले विदेशमा व्यवसाय विस्तारका लागि कस्तो अवसर देखेको छ ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाली बीमा कम्पनीले विदेशमा व्यवसाय विस्तारका लागि कस्तो अवसर देखेको छ ?



हाम्रो स्टुडेन्ट इन्टरनेशनल हेल्थ इन्सुरेन्स प्रोडक्टको विदेश लन्चिङका लागि म हालै अस्ट्रेलिया गएको थिएँ। नेपालबाट साथीहरूले सिड्नीमा कार्यक्रम आयोजना गरिदिनुभयो, र मैले त्यहाँका केही कलेजहरूमा यो प्रोडक्ट प्रस्तुत गर्ने अवसर पाएँ।

प्रस्तुति सुनेपछि धेरैले दिएको प्रतिक्रिया अत्यन्त उत्साहजनक थियो। केही विदेशी प्रतिनिधिहरूले त ठोकुवै गरे— “मेरो जीवनमा यस्तो प्रोडक्ट कहिल्यै देखेको छैन । यो उत्कृष्ट छ। भारत, चीन, बंगलादेश, पाकिस्तान—कसैसँग यस्तो प्रोडक्ट छैन ।”

विद्यार्थी लक्षित कभरेजको हिसाबले उनीहरूका लागि यो नयाँ अनुभव रहेछ। तर त्यही क्रममा उनीहरूले उठाएको एउटा प्रश्न भने अत्यन्त महत्वपूर्ण थियो—नेपाल बसेर तपाईंहरूले कसरी अस्ट्रेलिया, न्युजिल्यान्ड वा युकेमा रहेका विद्यार्थीलाई बीमा कभरेज दिन सक्नुहुन्छ? कति खर्चिन्छ? कति कभर गर्न सकिन्छ?

मैले त्यसको उत्तर दिएँ—बीमा सेवा विदेशमा दिन सक्ने क्षमता हामीले विस्तार गर्दैछौँ, तर यसका लागि कन्सल्टेन्सी, एजेन्ट, सेवा–सञ्जाल र स्थानीय नियमन पूर्ण रूपमा बुझ्नु जरूरी छ। यही उद्देश्यले अब हामी मेलबर्न र सिड्नीमा नेपाली र स्थानीय दुवै कन्सल्टेन्सी र एजेन्टहरूसँग सम्मेलन गर्न तयारी गरिरहेका छौँ।

अस्ट्रेलियामा रहँदा त्यहाँको कन्सल्टेन्सी एसोसिएसनका हेड कोमल पाठक र अन्य प्रतिनिधिहरूसँग भेट भयो। कलेजहरूमा पनि प्रोफेसरहरू र पदाधिकारीहरूसँग विस्तृत कुराकानी भयो। क्विन्सफोर्ड कलेजका विकास भण्डारीले प्रोडक्ट र यसको विस्तारबारे उपयोगी सुझाव दिनुभयो। यी सबै कुराले एउटा नयाँ सोच अगाडि ल्यायो— अस्ट्रेलियामा नै प्रतिनिधि कार्यालय (शाखा) खोल्ने पहल किन नगर्ने?

यसैक्रममा नेपाल बीमा प्राधिकरणसँग विदेश शाखाबारे छलफल गर्दा सकारात्मक संकेत नै भेटियो। प्राधिकरणका अधिकारीहरूले भने— “पहिले दुई कम्पनीलाई हामीले विदेशमा कार्यालय खोल्न अनुमति दिएका थियौँ, तर उनीहरूले सफल भएनन्। तपाईंहरू गर्न चाहनुहुन्छ भने हामी रोक्दैनौँ।”

यो सुनेपछि हामीले बुझ्यौँ—नेपालका बैंकमध्ये केहीले विदेश शाखा खोलिसके पनि, बीमा क्षेत्रबाट भने अहिलेसम्म कसैले यो कदम चाल्न सकेको छैन। यदि हामी सफल भयौँ भने यो पहिलो नेपाली बीमा कम्पनीको अन्तर्राष्ट्रिय उपस्थिति हुनेछ।

कानुनी चुनौती र आवश्यक पूँजी

तर अस्ट्रेलियामा शाखा खोल्नु सजिलो भने छैन। त्यहाँका नियमहरू कडा छन्।

  • लायबिलिटी बराबरको एसेट अस्ट्रेलियामै राख्नुपर्ने ।
  • न्यूनतम ५ मिलियन डलर (करिब ४५ करोड रुपैयाँ) पूँजी ।

जति धेरै लायबिलिटी, उति धेरै एसेट राख्नुपर्ने। बीमा व्यवसायको प्रकृतिमै लायबिलिटी उच्च हुने भएकाले यो प्रावधान के–कति प्रभाव पार्ने हो भनेर हामी अझ प्रष्ट्याउँदै छौँ। ५० लाख वा १ करोड डलर बराबरको पूँजी जुटाउनु त्यति समस्या नहोला, तर त्यसको ‘इक्विभ्यालेन्ट एसेट’ भने विस्तृत व्याख्या माग्ने विषय छ।

अस्ट्रेलियामा देखिएको ठूलो अवसर

अवसर भने त्यत्तिकै ठूलो छ।
उदाहरणका लागि—

  • अस्ट्रेलियामा ३०,००० डलरको गाडीमा कम्प्रिहेन्सिभ प्रिमियम १८०० डलर (करिब ६%) पर्छ।
  • नेपालमा ३० लाखको गाडीमा प्रिमियम ३०,००० रुपैयाँ (१% मात्र) पर्छ।
  • दुर्घटना दर अस्ट्रेलियामा न्यून, सडक प्रणाली व्यवस्थित—बीमा जोखिम कम।

यसैले मोटर इन्सुरेन्स र स्टुडेन्ट हेल्थ इन्सुरेन्स—दुवै क्षेत्रमा व्यवसायिक अवसर अत्यन्तै ठूलो छ।
अस्ट्रेलियामा प्रपर्टी इन्सुरेन्स पनि आकर्षक छ, तर त्यहाँ चाहिने क्यापिटल ठूलो भएकाले तत्काल त्यसमा जाने सोच भने छैन।

नेपालबाट हरेक वर्ष ६०–७० हजार विद्यार्थी अस्ट्रेलिया जान्छन्। यसमा मात्र आधारित भएर पनि विद्यार्थी–बीमा विस्तारका लागि ठूलो बजार देखिन्छ।

किन हामीले यी कदम चाल्दैछौँ

हामी अहिले सोचिरहेको केन्द्रबिन्दु दुईवटा क्षेत्र हुन्—

  • विद्यार्थी बीमा
  • मोटर बीमा

यो दुवै क्षेत्रमा अस्ट्रेलियामा पर्याप्त ‘एक्सेस’ र ‘अपर्चुनिटी’ छ।
यदि हामीले शाखा खोल्न सक्यौँ भने—

  • नेपालका बीमा कम्पनीहरूको पहिलो अन्तर्राष्ट्रिय विस्तार
  • विश्व बजारमा नेपाली बीमा व्यवसायको नयाँ पहिचान
  • दीर्घकालीन रूपमा क्षेत्र विस्तारको नयाँ ढोका

यी सबै सम्भावनाले हामीलाई अघि बढ्न प्रेरित गरिरहेका छन्।


हामी अहिले पहिलो पहलको चरणमा छौँ, र यो कदम बीमा क्षेत्रको भविष्यका लागि महत्वपूर्ण सुरुवात हुन सक्छ भन्ने विश्वास छ।

(नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खड्कासँग अर्थपथले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस्