प्रतिनिधी सभा निर्वाचन : नुवाकोट– १ बाट प्रकाशशरण महतको एकल नाम सिफरिस
नेपाली काग्रेसले नुवाकोटको क्षेत्र न. १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ डा. प्रकाशशरण महतको एकल नाम सिफरिस भएको छ । सोही क्षेत्रको तत्कालिन कविलास गाविस (हालको पञ्चकन्या गाउँपालिका)मा जन्मिएका महतले नेपाल सरकारका अर्थ, परराष्ट्र र ऊर्जासहितका मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
उनी ऊर्जामन्त्री हुँदा अर्थात् माधवकुमार नेपालको प्रधानमन्त्रीत्वको सरकारले पहिलो चरणमा पहाडमा नुवाकोट र तराईमा कैलालीलाई पूर्ण विद्युतीकरण गर्ने नीतिगत निर्णय गरेकै कारण नुवाकोटका हरेक कुनाकन्दरासम्म विद्युतीकरण सम्भव भएको थियो ।
पछिल्लो समय नुवकोटमै टोखा–छहरेमात्रै होइन, थानसिङदेखि रसुवाको स्याफ्रुवेशीसम्म ठाउँठाउँमा सुरुङमार्ग बनाएर काठमाडौँको वायव्य कोणमा एक विशाल ‘स्याटेलाइट सीटी’ निर्माण गर्ने परिकल्पनालाई समेत अघि बढाउँदै आएका थिए ।
यसका लागि आफ्नो व्यक्तिगत पहलमा नै उनले वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर टीबीएम अर्थात् टनेल बोरिङ मेसिनको सहायताले ६ महिनामै सुरुङ छेडिसक्ने योजना अघि सारेका थिए । तर, त्यहीबीचमा सरकारको गठबन्धन फेरियो र उनको अर्थमन्त्री पद पनि फुस्कियो ।
सो साल होइन, पोहोरको अशोजमा आएको बाढी पहिरोले काठमाडौँ उपत्यका छिर्ने सबै नाकाहरु बन्द हुँदा पनि टोखा–छहरेको बाटो चालू भएको सन्दर्भले पनि राजधानीलाई बाँकी देशसँग समाबद्ध राख्न यस क्षेत्रमा सुरूङ मार्ग अपरिहार्य रहेको भनेर उनले विशेष पहल गरेका थिए ।
उनै महतले वर्षौंदेखि पीडादायी समस्यामा रहेको पासाङल्हामु राजमार्गको विस्तार र पुन:निर्माणलाई अघि बढाए । धेरै वर्षअघिडा. बाबुराम भट्टराई प्रधानमन्त्री हुने वित्तिकै भारत भ्रमणमा गएका बेला यो सडकको स्तरोन्नतीका लागि भारतीय एक्जीम बैंकबाट ऋण लिने सम्झौता भएको थियो ।
त्यो बेला भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौलाले उक्त सडकको स्तरोन्नती गर्नमा विशेष पहल गरेका थिए । तर पछि भारतले त्यो सडक बनाउने ठेक्का र सामाग्रीसमेत आफ्नो देशबाट लैजानुपर्ने शर्त अघि सार्यो । भारत होस् वा चीन, त्यस्ता एक्जीम बैंकहरुबाट लिइने ऋणको ब्याजमात्रै महँगो हुने होइन, सामान, कामदार र ठेकेदार पनि उतैबाट झिकाउनुपर्ने शर्त हुन्छ ।
त्यस्तो शर्त मानेर काम हुन नसकेको त्यो आयोजना पछि माओबादी अध्यक्ष पुष्पकमल दाहालका घरपेटी एवम् निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले ठेक्का पाए । उनले ठाउँठाउँमा सडक भत्काएर वर्षौंसम्म अलपत्र पारेपछि कुनै बेला ‘ट्राउट हाइवे’ भनेर चिनिएको ककनीको बजार चकमन्न हुनेगरी सुकेको थियो ।
यसरी एक दशकभन्दा लामो समय वितेपछि प्रकाशशरण महतले अर्थमन्त्री हुँदा सबैखाले ठेक्का सम्झौता र ऋण सम्झौताहरुसमेत खारेज गरिदिए । त्यसपछि देशको आन्तरिक स्रोत (सरकारकै ढुकुटी)बाट यो परियोजना अघि बढाउने गरी उनले आफ्नो बजेटमा राखे । त्यो बजेट कार्यान्वयन हुन केही समय लागे पनि अहिले भने धमाधम बाटो कालोपत्रे भएपछि यसै हप्ता डा. महतलाई ककनीमा नागरिक अभिनन्दन गरिएको थियो ।

उनले विगतमा पनि नुवाकोटमात्रै होइन, देशै भरका जिल्ला सदरमुकाम र निर्वाचन क्षेत्रहरु जोड्ने राजमार्ग, सहायक राजमार्ग तथा लिंक रोडहरुको परिकल्पना गरेर तत्कालिन सरकारहरुमार्फत् कार्यान्वयन गराए । एमाले सरकारले मदनभण्डारी राजमार्गको परिकल्पना अहिले गरेका हुन् । तर डा. महतले आफू ऊर्जा मन्त्री हुँदादेखि नै देशमा चारवटा समानान्तर राजमार्ग आवस्यक भएको बताउने गरेका थिए ।
उनले त्यतिबेला महेन्द्र राजमार्गका साथै हुलाकी राजमार्ग पनि बनेपछि तराईलाई जोड्ने र मध्येपहाडी राजमार्गले मध्येपहाडलाई जोड्ने बताउँथे । तर एउटा हिमाली राजमार्ग पनि हुनुपर्छ भन्ने उनको बुझाइ छ । भलै, अहिलेसम्म यो राजमार्गको परिकल्पना बजेटको दस्तावेजसम्म पुगिसकेको छैन ।
नुवाकोटको क्षेत्रनम्बर १ (संघीयता कार्यान्वयन अघिको क्षेत्रनम्बर २) निर्वाचन क्षेत्रबाट २०४९ को निर्वाचनदेखि नै उनका सहोदर दाजु एवम् नेपालमा उदारिकरणका प्रणेता डा. रामशरण महतले चुनाव लड्दै आएका थिए । अर्को क्षेत्रमा कांग्रेसले अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसीलाई निरन्तर उमेद्वार बनाएपछि प्रकाश महत (नुवाकोटमा भाइ महत भन्छन्) ले प्रत्यक्ष निर्वाचनमा भाग लिन असहजता महसुस गरेका थिए ।
तर अहिले दाइ महत विमार परेपछि त्यो क्षेत्र प्रकाशशरणका लागि खुल्ला भएको हो ।
कांग्रेसले प्रतिनिधी सभामा समानुपातिक तर्फ भने कृष्णबहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतमको नाम सिफारिस गरेको छ । समानुपातिक महिलातर्फबाट भवानी देवकोटा र अन्जु आचार्यको नाम सिफरिस भएको छ । त्यस्तै, समानुपातिक दलित महिलातर्फबाट कल्पना नेपालीको नाम सिफरिस भएको छ ।
राष्ट्रिय सभा उम्मेदवारका लागि शिवपुरी गाउँपालिकाका पूर्वप्रमुख रामकृष्ण थापा अपाङ्गता भएका व्यक्तिमध्येबाट भाग्यश्री लामालाई उमेदवार बनाउने भनेर नाम सिफारिस भएको नुवाकोट कांग्रेसले जनाएको छ ।













