एनआईबीएल इक्विटी पार्टनर्सकाे सहायक-प्रमुखमा रितु प्रधान मल्ल नियुक्त
काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सको सहायक प्रमुखमा रितु प्रधान मल्ल नियुक्त भएकी छन्। एनआईएमबी एस क्यापिटलले एनआईबीएल इक्विटी पार्टनर्सको सहायक प्रमुखमा रितु प्रधान मल्ललाई नियुक्त गरेको हो ।
नेपालका तीव्र रूपमा विकसित हुँदै गरेका पूँजी बजारलाई मध्यनजर गर्दै निजी इक्विटी, लगानी व्यवस्थापन तथा दिगो वित्तमा कम्पनीको क्षमतालाई थप सुदृढ बनाउने उद्देश्यले मल्लको नियुक्ति गरिएको कम्पनीले जनाएको छ। लगानी रणनीति, जलवायु वित्त तथा निजी इक्विटी क्षेत्रमा उनीसँग रहेको व्यापक अनुभवले कम्पनीको नेतृत्व टोली थप सबल हुने बताइएको छ।
नयाँ भूमिकामा मल्लले निजी इक्विटी, लगानी व्यवस्थापन तथा दिगो वित्तका क्षेत्रमा कम्पनीको रणनीतिक दिशानिर्देशनमा सह-नेतृत्व गर्नेछिन्। उनी रणनीतिक निर्णय प्रक्रियामा उचित परिशोधन (Due Diligence) प्रणाली सुदृढ बनाउने, ईएसजी (ESG) एकीकृत लगानी ढाँचा विस्तार गर्ने, पोर्टफोलियो अनुगमन क्षमता वृद्धि गर्ने तथा नेपालको आर्थिक रुपान्तरणलाई समर्थन गर्ने नयाँ वित्तीय उपकरणहरूको विकासमा योगदान गर्ने जिम्मेवारीमा रहनेछिन्।
एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवन्थ बहादुर पाँडेले भने, ‘निजी इक्विटी, दिगोपन र उद्यम विकासमा रितुको विशेषज्ञताले हाम्रो नेतृत्व टोलीलाई बल प्रदान गर्दछ। उनको अनुभव हाम्रो लगानी दृष्टिकोण र नेपालको वित्तीय परिदृश्यमा दीर्घकालीन मूल्यलाई अगाडि बढाउने हाम्रो प्रतिबद्धतासँग राम्रोसँग मेल खान्छ।’
नियुक्तिपछि आफ्नो धारणा व्यक्त गर्दै मल्लले नेपालको पूँजी बजार तीव्र गतिमा रुपान्तरण हुँदै गएको समयमा एनआईबीएल इक्विटी पार्टनर्समा सामेल हुन पाउँदा खुशी व्यक्त गरिन्। उनले भनिन् ‘दिगो प्रभावसहितको वृद्धिको सम्भावना अत्यधिक छ। कम्पनीको महत्वाकांक्षी दृष्टिकोणलाई अघि बढाउँदै नेपालका वित्तीय क्षेत्रको आगामी अध्यायलाई समर्थन गर्न म उत्साहित छु।’
रितु प्रधान मल्लसँग १४ वर्षभन्दा बढी जलवायु वित्त, निजी इक्विटी, उद्यम विकास तथा दिगो प्रभावका क्षेत्रमा अनुभव छ। उनले यसअघि बिजनेस अक्सिजन (BO2) मा नेतृत्व भूमिकामा रहेर वृद्धि–केन्द्रित कम्पनीहरूको उद्यम विकास तथा लगानी रणनीति सम्हालेकी थिइन्।
हाल उनी घामपावरको स्वतन्त्र निर्देशक तथा इम्प्याक्ट हब काठमाडौंको एड्भाइजरी बोर्ड सदस्यका रूपमा कार्यरत छन्, जहाँ उनले दिगोपन, उद्यमशीलता तथा रणनीतिक दिशानिर्देशनमा योगदान दिँदै आएकी छन्।
यसअघि उनले क्रसबाउन्ड्री एड्भाइजरीको नेपाल शाखामा हेड अफ एड्भाइजरीको जिम्मेवारी सम्हालेकी थिइन् भने यूएसएआईडी ट्रेड एन्ड कम्पेटिटिभनेस एक्टिभिटी (डेलोइटद्वारा कार्यान्वयन) मा डाइरेक्टर अफ इन्भेस्टमेन्ट एन्ड बिजनेस डेभलपमेन्ट सर्भिसेजका रूपमा पनि काम गरिसकेकी छन् ।
लगानी प्रक्रियामा ईएसजी एकीकरणका अन्तर्राष्ट्रिय मापदण्ड विशेषगरी आईएफसीका मानक अनुसार काम गर्न उनी सशक्त अधिवक्ता मानिन्छिन्।
कम्पनीका अनुसार, मल्लको नियुक्तिले एनआईबीएल इक्विटी पार्टनर्सको प्रभावमुखी लगानी दृष्टिकोणलाई थप मजबुत बनाउँदै देशको दीर्घकालीन आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।













