एमाले एघारौँ महाधिवेशन आजबाट सुरू हुँदै
काठमाडाैं। नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारी चौरमा शुरु हुँदैछ । पार्टीको ११औँ महाधिवेशनलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरदेखि भक्तपुरसहित काठमाण्डौ उपत्यकाका ऐतिहासिक, पुरातात्विक सम्पदा र परम्परा झल्कने गरी उद्घाटनस्थल तयार गरिएको छ । मञ्चको दुबै छेउमा हिमालको सौन्दर्य झल्किने कलात्मक संरचना राखिएर सम्पूर्ण दृश्यलाई अझ भव्य बनाइएको छ।
ऐतिहासिक सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सम्पदाको भल्को दिनेगरी मल्लकालीन शैलीमा चाँगुनारायण मन्दिरको स्वरुपमा मञ्च निर्माण गरिएको छ भने उद्घाटनस्थलको मञ्चमा नेवारी कला, संस्कृति झल्कने दृश्य राखिएका छन् ।
उद्घाटनका दिन करिब तीन लाख व्यक्ति बस्न मिल्ने व्यवस्था गर्न लागिएको एमालेले जनाएको छ ।
महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधिका कारण महाधिवेशनस्थलमा चहलपहल बढेको छ । महाधिवेशनको उद्घाटन समारोहमा करिब ३ लाख कार्यकर्ताको उपस्थिति र ५ सय ड्रेस कोडसहितका १० हजार स्वयंसेवक परिचालन हुने दाबी गरिएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा आउन सहजता प्रदान गर्न सवारी साधनको व्यवस्था र पार्किङको पनि उचित व्यवस्थापन गरिएको छ।













