शक्तिकेन्द्रको नाभी : शितल निवासमा शीर्ष पाँच
काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले संसद पुन:स्थापनाको एजेन्डा अघि सार्ने अन्तिम तयारी थालेको छनक पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले फेरी एक पल्ट राष्ट्र प्रमुखको सहारा लिएकी छन् । उनले विघटित प्रतिनिधी सभाका शीर्षस्थ तीन दलका नेतासहित बैठक बोलाएकी हुन् ।
त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग अहिले शीतलनिवासमा छलफल गरिरहेका छन् ।
छलफलमा राष्ट्रपति र प्रधानमन्त्री सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल सहभागी छन् ।
जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधानमन्त्रीले तीनवटै दलका शीर्ष नेतासँग एकसाथ छलफल गरेको यो नै पहिलो घटना हो ।
पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनबारे प्रधानमन्त्रीले राष्ट्रपतिबाटै शीर्ष नेताहरुलाई आग्रह गर्न लगाएको स्रोतको दाबी छ । ठूला दलहरुले नयाँ निर्वाचनबाट पुराना सबै शक्तिलाई ‘पाखा लगाउने’ षडयन्त्र भएको बुझेका छन् ।
यही कुरा बुझेपछि नेपाली कम्युनिष्ट पार्टी पनि विस्तारै चुनाव होइन, प्रतिनिधी सभा पुन:स्थापनाको बाटोमा अग्रसर हुनसक्ने अड्कल काटिएको थियो । दलहरुको ‘मुड’ बदलिएपछि प्रधानमन्त्रीले राष्ट्रपतिको सहारा लिएर ‘कन्भिन्स’ गर्न खोजेकी छन् ।













