धनगढीमा बन्ने भयो दुई अर्ब २० करोडमा पहिलो पाँचतारे होटेल, क्लब चौलानीबिच सम्झौता
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमै धनगढीमा पहिलो पटक पाँचतारे होटेल बन्ने भएको छ ।
चौलानी होटेल धनगढी निर्माणको लागी होलिडे इन बाइ आइएचजी र क्लब चौलानी लिमिटेडबिच होटेल व्यवस्थापन सम्झौता आज काठमाडौैंस्थित होलिडे रिसोर्ट बुढानीलकण्ठमा सम्पन्न भएको छ ।
निर्माण हुन लागेका होलिडे इन बाइ आइएचजी धनगढी सुदूरपश्चिम प्रदेशकै अन्तर्राष्ट्रिय होटेल चेन अन्तर्गतको पहिलो पाँचतारे होटेल हुनेछ । होटेलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन् ।
प्रमुख सुविधाहरूमा करिब १८,५०० वर्ग फुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७०० जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेस्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सुविधा समावेश रहनेछन् ।
परियोजनाको कुल लगानी २ अर्ब २० करोड रहेको छ, जसमा करिब ६५ प्रतिशत १४३ करोड बैंक ऋण र ३५ प्रतिशत ७७ करोड) प्रवर्द्धकहरूको स्व–पुँजीमार्फत व्यवस्थापन गरिनेछ ।
धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो । भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठुलो सङ्ख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ ।

धनगढी सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख जङ्क्सनको रूपमा विकसित हुँदै गएको छ र महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ ।
यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीको नयाँ मापदण्ड स्थापना गर्ने विश्वास र क्षेत्रीय पर्यटन, व्यावसायिक विकास तथा आर्थिक प्रगतिमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
















