त्रिविले दीक्षान्त समारोहका लागि किन रोज्यो ‘क्रिसमस’को साइत ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो इतिहासमै पहिलो पटक दीक्षान्त समारोह आयोजना गर्न ख्रिष्टियन धर्मको मुख्य पर्व क्रिसमसलाई रोजेको छ ।
विश्वविद्यालयको आफ्नो ५१औँ दीक्षान्त समारोह आज बिहीबार काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न भएको हो।
यसअघि कहिल्यै नभएको दिनमा दीक्षान्त आयोजना गर्दै त्रिविले नयाँ अभ्यास सुरु गरेको छ । जनसंख्याको आधारमा विश्वमै सर्वाधिक हिन्दुहरुको मुलुक नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयले क्रिसमसमा ‘टोपी उडाउने’ पर्व मनाएको भनेर सामाजिक सञ्जालमा केही आलोचना भएको छ ।
यद्यपि, यस वर्षको समारोहलाई ऐतिहासिक बनाउने अर्को विशेषता चाहीँ नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्य र प्रधानमन्त्रीको उच्च शिक्षा सुधारसम्बन्धी स्पष्ट सन्देश बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समारोहमा सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी भए। टोकियो विश्वविद्यालयसँग आबद्ध काजिताको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह हुनु त्रिविको ६५ वर्षे इतिहासमा पहिलोपटक हो।

विश्वविद्यालयको उपकुलपतिमा अहिले प्रा. डा. दीपक अर्याल आशिन छन् । उनलाई केपी ओली नेतृत्वको सरकारले गएको असार अन्तिम हप्ता नियुक्त गरेको थियो ।
यस वर्ष त्रिविबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका थिए।
समारोहमा दीक्षित विद्यार्थी, अभिभावक र अतिथिसहित करिब ४१ हजार जनाको उपस्थिति रहेको विश्वविद्यालयले जनाएको छ।
उत्तीर्ण विद्यार्थीमध्ये मानविकी संकायबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना रहेका छन्। उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न संकाय र तहका ११ जना छात्रा तथा १४ जना छात्रलाई पदक प्रदान गरिएको छ।
पछिल्ला ११ वर्षमा कुन साल कहिले थियो दीक्षान्त ?

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको शैक्षिक प्रशासनमा सुधार आवश्यक रहेको उल्लेख गरिन्।
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने वर्तमान व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस भएको बताउँदै उनले शैक्षिक प्रशासनमा हुने अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई दीर्घकालदेखि असर पार्दै आएको भनिन्। यही बोधका आधारमा केही ठोस पहल सुरु गरिएको र कुलपति प्रणालीबारे गम्भीर परामर्श तथा गृहकार्य भइरहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन्।
क्रिसमसकै दिन सम्पन्न भएको ५१औँ दीक्षान्त समारोहले त्रिभुवन विश्वविद्यालयको परम्परागत अभ्यासमा नयाँ मोड दिएको छ।













