९ श्रावण २०८३, शनिबार

सिमेन्ट कंक्रीट पक्का सडक सम्बन्धी डिजाइन तथा निर्माण तालिम पोखरामा सम्पन्न



पोखरा । सिमेन्ट उत्पादक संघ नेपालको आयोजनामा तथा आइपीटीएम नेपालद्वारा सहजीकरण गरिएको सिमेन्ट कंक्रीट सडकको योजना र निर्माण विषयक तालिम सम्पनन्न भएको छ ।

उत्त तालिम होटल ल्याण्डमार्क, लेकसाइड, पोखरामा सफलतापूर्वक सम्पन्न भएको हो ।

तालिमको उद्घाटन चुमन बाबु श्रेष्ठले गरेका थिए भने सत्रको अध्यक्षता सिमेन्ट उत्पादक संघ नेपालका अध्यक्ष रघु नन्दनले गरे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा माछापुच्छ्रे गाउँपालिका, कास्कीकी उपाध्यक्ष सीता अधिकारी थिइन् ।

विशिष्ट अतिथिहरूमा नरेन्द्र सुवेदी, सुपरिन्टेन्डेन्ट इन्जिनियर, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पोखरा तथा रामकुमार श्रेष्ठ, वरिष्ठ डिभिजनल इन्जिनियर, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सहभागी थिए ।

कार्यक्रमको सुरुवात सिमेन्ट उत्पादक संघ नेपालका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक ध्रुव थापाको स्वागत मन्तव्यबाट गरिएको थियो । मन्तव्यको क्रममा उनले नेपालमा कङ्क्रिट पक्की निर्माणका लागि उपयुक्त कम लागतको कङ्क्रिट पेभर प्रविधि सम्बन्धी छोटो भिडियो प्रस्तुति प्रस्तुत गरे । त्यसपछि तालिम सहजकर्ता अर्जुन जंग थापाले तालिमको परिचय तथा नेपालमा यसको सान्दर्भिकता विषयमा प्राविधिक अभिमुखीकरण प्रस्तुति दिए ।

प्रस्तुतिमा सिमेन्ट कङ्क्रिटबाट निर्माण गरिने तालिमले ट्राफिकको भारलाई स्ल्याबमार्फत फराकिलो क्षेत्रफलमा वितरण गर्ने भएकाले कमजोर सबग्रेड, भारी सवारी साधन, पानी जम्ने तथा चुहावट हुने क्षेत्रमा समेत प्रभावकारी हुने तथ्य उजागर गरिएको थियो । नेपालको भौगोलिक विविधता, बढी वर्षा, बढ्दो सवारी चाप तथा बिटुमिनस सडकको उच्च मर्मत लागतका कारण नेपालमा च्ष्नष्म उबखझभलत को प्रयोग झनै सान्दर्भिक बन्दै गएको उल्लेख गरियो । यद्यपि प्रारम्भिक लागत बढी भए पनि लामो आयु (२५–३० वर्षभन्दा बढी) र न्यून मर्मत खर्चका कारण यसको जीवनचक्र लागत कम हुने भएकाले यो दीगो तथा आर्थिक रूपमा लाभदायी विकल्प रहेको प्रस्तुतीकरणमा जोड दिइयो ।

विशेष मन्तव्य दिँदै नरेन्द्र सुवेदीले इन्जिनियर तथा सब–इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि यस्तो तालिम आयोजना गरेकोमा सिएमएलाई धन्यवाद दिए ।

उनले तालिममा चर्चा गरिनु पर्ने केहि विषयबस्तुको बारेमा उल्लेख गर्दै नेपालको सिमेन्ट उद्योग आत्मनिर्भर भई भारतसम्म सिमेन्ट निर्यात हुन थालेकोमा खुशी ब्यक्त गरे ।

त्यसैगरी प्रमुख अतिथि अधिकारीले सरकारी निर्माण ठेक्कामा न्यूनतम दरमा ठेक्का दिने प्रचलनका कारण निर्माण कार्यको गुणस्तरमा नकारात्मक असर परेको धारणा व्यक्त गरिन् । गाउँपालिकाको सुपरिवेक्षण टोलीको फोकल पर्सनको रूपमा कार्यरत रहँदा तालिमले डिजाइन, निर्माण प्रक्रिया र गुणस्तर नियन्त्रणको महत्त्वबारे आफ्नो दृष्टिकोण अझ स्पष्ट भएको उनको भनाइ थियो । स्थानीय तहका लागि यस्ता क्षमता अभिवृद्धि कार्यक्रम अत्यन्त आवश्यक रहेकोमा उनले जोड दिइन् ।

कार्यक्रमको अन्त्यमा सिमेन्ट उत्पादक संघ नेपालका कोषाध्यक्ष अरुणकुमार कर्णले धन्यवाद ज्ञापन गरेका थिए । त्यसपछि अध्यक्ष रघु नन्दन मारुले सिमेन्ट कंक्रीट सडकको योजना र निर्माण शीर्षकमा संक्षिप्त प्रस्तुति दिँदै सिमेन्ट कङ्क्रिट सडकका दीर्घकालीन आर्थिक, प्राविधिक तथा वातावरणीय फाइदाबारे प्रकाश पारे । अध्यक्षको समापन मन्तव्यसँगै उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भएको घोषणा गरियो ।

उक्त तालिमले नेपालमा गुणस्तरीय, दिगो तथा दीर्घकालीन सडक पूर्वाधार विकासमा संलग्न प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्