३ आश्विन २०८३, शनिबार

महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभाबाट लाभांश पारित, राजेश उपाध्याय पुनः अध्यक्षमा निर्वाचित



काठमाडौं । महालक्ष्मी विकास बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले गरेका थिए।

सम्पन्न सभाले सेयरधनीहरूका लागि लाभांशसहित विभिन्न महत्त्वपूर्ण प्रस्ताव पारित गरेको छ । सभामा आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरण प्रस्तुत गरी छलफलपछि स्वीकृत गरिएको छ।

साथै, सञ्चालक समितिले प्रस्ताव गरेको १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन भएको छ। यस अन्तर्गत ५.३७ प्रतिशत नगद लाभांश तथा ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ। अघिल्लो वर्ष बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंकका वित्तीय परिसूचकहरुमा उल्लेख्य सुधार भएको सभामा जानकारी दिइएको छ। आर्थिक वर्ष २०८०/८१ मा ९.३९ प्रतिशत रहेको आधार दर २०८१/८२ मा घटेर ६.९४ प्रतिशतमा पुगेको छ। त्यस्तै, पुँजीकोष पर्याप्यता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशतमा पुगेको छ। सोही अवधिमा बैंकको निक्षेप रु. ५६.२२ अर्ब र कर्जा तथा सापटी रु. ४७.२१ अर्ब पुगेको छ।

सभामा बैंकको नियमावली अनुसार सञ्चालक निर्वाचन सम्पन्न भएको छ। संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरि तथा ग्रोइङ्ग प्रा.लि.का प्रतिनिधि सागर मल्ल निर्वाचित भएका छन्। सर्वसाधारण समूह (ख) बाट श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल तथा शालिकराम अर्याल निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्षमा चयन गरेको छ।

सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुबाट प्राप्त सुझावलाई आत्मसात गर्दै बैंकलाई अझ सशक्त र गुणस्तरीय वित्तीय सेवा प्रदायक बनाउन प्रतिबद्धता व्यक्त गरे। साथै, बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुप्रति धन्यवाद ज्ञापन गरेका थिए।